हेडलाईन न्युज

नेकपा ३ नम्बर प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न : ३० बिभाग र ७३ सदस्यीय सचिवालय गठन

सरला कार्की,
सुनकोशी न्युज, २०७६ कात्र्तिक ७ गते साँझ ९ः२१
ललितपुर । नेकपा प्रदेश नं. ३ को तेस्रो पूर्ण बैठक आज ललितपुरको च्यासलमा सम्पन्न भएको छ । बैठकले ६ बुंदे प्रस्तावसहित उपचुनाव हुने स्थानहरुमा पार्टीलाई प्रचारप्रसार लगायत कार्यमा परिचालन गर्ने मूल कमिटी गठन, कार्ययोजना र संगठन सम्वन्धी विविध निर्णय गरेको छ ।
च्यासलस्थित तुलसीलाल आमात्य स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न बैठकले २१८ सदस्यीय प्रदेश कमिटीबाट ७३ जनाको सचिवालय गठन गरेको छ । बैठकले विभिन्न ३० वटा विभागहरुका संयोजक र सहसंयोजकहरु पनि तोकेको छ । त्यसैगरी १०९ सदस्यीय सल्लाहकार समिति एवं ज्यष्ठ कम्युनिष्ट मञ्च पनि बनाएको छ ।

सचिवालय निर्माण गर्दा ब्यालेन्स मिलाउन नसकेको बैठकमा उपस्थित सदस्यहरुको गुनासो थियो । सिनियर, सक्रिय तथा पूर्व पोलिटव्यूरो सदस्यहरुलाई छाडेर अन्यलाई सचिवालयमा लगिएकोले कमिटीमा असन्तुष्टि पैदा भएको बैठकमा सहभागी एक सदस्यले बताए । काठमाण्डौं जस्तो घना जनसंख्या तथा दश वटा निर्वाचन क्षेत्र भएको जिल्लाबाट जम्मा दुईजना मात्रै पूर्वमाओवादी केन्द्रबाट सचिवालयमा लगिएको छ ।

त्यसैगरी, जिल्लाका अध्यक्ष र सचिव नियुक्त गरिएका केन्द्रीय सदस्यहरुलाई प्रदेशको सचिवालयमा राख्ने कि नराख्ने भन्ने टुंगो लाग्न नसक्दा अन्यौल पैदा भएको बताइएको छ । प्रदेशकी इन्चार्ज तथा पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले यही मंसीर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा सक्रिय हुन सम्वन्धित निर्वाचन क्षेत्र र जिल्लाका कार्यकर्ताहरुलाई विशेष निर्देशन दिनुभएको थियो । प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङले विशेष प्रस्ताव पेश गर्दै सामाजिक संजाल र मिडियोको बढ्दो प्रभावले समाजमा धेरै नकारात्मकता पनि बढाएको बताउनुभयो ।
अर्का सहइन्चार्ज हितमान शाक्य र काशीनाथ तिवारीले निर्वाचन र पार्टीका आगामी कार्ययोजनाबारे प्रस्ताव पेस गर्नुभएको थियो भने सचिव आनन्दरा पोखरेलले प्रदेश कमिटिका गतिविधिको पिरपोर्टिङ गर्नुभएको थियो ।

बैठकका विशेष अतिथि तथा स्थायी समिति सदस्य अग्नी सापकोटाले चिनिया विशेषताको समाजवाद, लगाव, इमानदारिता, सादगी र सि बिचारधाराको नेपालीहरुले अनुसरण गर्नुपर्ने बिचार राख्नुभएको थियो । बैठकमा तीन नम्बर प्रदेशमा कार्यक्षेत्र बनाएका करिब दुई दर्जन केन्द्रय सदस्य, प्रदेशका मन्त्री लगायतको सहभागिता रहेको थियो । बैठकले भक्तपुरका जिल्ला अध्यक्ष बचन खाइजुलाई एकैपटक प्रदेशको सचिवालयमा बढुवा गरेर सपथ समेत खुवाएको थियो ।
निर्धारित समयभन्दा सवाघण्टा ढिलो सुरु भएको बैठक साँझ पाँचबजेसम्म चलेको थियो ।

प्रकाशित मिति: बिहिबार, कार्तिक ७, २०७६