स्थानीय हेडलाईन न्युज

३ किलोमिटर घाट व्यवस्थापन वडा ११ को प्रतिष्ठा

काठमाडौं । थापाथली पुलदेखि टेकुदोभानसम्मको करीब ३ किलोमिटर क्षेत्रमा रहेका घाट संरक्षण गर्ने कामलाई वडा ११ प्रतिष्ठाको रुपमा लिएको छ । बिहीबार बाग्मती नदी सफाइ अभियन्ता र स्थानीय बुद्धिजीवि भेला गराएर चलाइएको छलफलमा वडाध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो — पशुपतिको आर्यघाट पछिको लामो घाट यही हो । यो ३ किलोमिटर घाटलाई पूर्ववत् पुनस्र्थापना गर्नु वडाको प्राथमिक योजना हो । घाटसँग सम्बन्ध जोडिएका मठ मन्दिर र देवालयसँगै पार्क र हरियालीले यस क्षेत्रलाई घुम्न आउँ आउँ लाग्ने बनाउनु छ । यसका लागि हामी निर्वाचित हुनु अगाडि काम पनि हुँदै थियो । हामी आएपछि पहिलेका योजना सबै हराए । कसरी काम हुन छाड््यो म आफैंंले पत्तो पाइन, वडाध्यक्ष तण्डुकारले भन्नुभयो — अब तपाईहरु कसरी सहयोग गर्नुहुन्छ? मिलेर काम गरौं । बंशीघाटलगायतका केही क्षेत्रमा बस्ती व्यवस्थापन गर्नु छ । कति ठाउँमा घाटसँगै जोडेर घर बनाइएका छन् । हाम्रो चाहना कसैलाई उठाउने होइन, तर गैरकानुनी संरचनालाई व्यवस्थापन गर्ने समय दिएर हटाउनु पर्छ, उहाँको भनाइ थियो ।

बैठकमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — फोहोर हटाउने अभियानसँगै फोहोरलाई पुनःप्रयोग वा पुनचक्रिय प्रयोगमा ल्याउन सक्ने उद्योग सञ्चालन अहिलेको आवश्यकता रहेको बताउनुभयो । उठाइएको वा हटाइएको फोहोरलाई फेरि अर्को ठाउँमा पु¥याएर राख्नु भनेको त सफाइ होइन । एक ठाउँबाट टिपिएको फोहोर अर्को ठाउँको समस्या नबनोस्, फोहोर व्यवस्थापनको दिगो समाधान यसरी खोज्नुपर्छ र यसभित्र नदी सफाइलाई जोड्नु पर्छ । उपप्रमुख खड्गी श्रेष्ठले महानगरको योजना सुनाउँदै धारणा राख्नुभयो । त्यसक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, सरसफाइसँग जोडिएका र प्रदेश सभाले निर्णय गर्नुपर्ने बिषय माग भए आफूले प्रदेश सभामा त्यो बिषय लिएर जाने बताउनुभयो । यसका अतिरिक्त स्थानीय स्तरमा हुने हरेक गतिबिधिमा म साथ छु, उहाँको भनाइ थियो ।

त्यस क्रममा अग्रज पत्रकार कनकमणि दीक्षितले, करीब २५ बर्ष अघिको कुरा स्मरण गर्दै, छेवैमा बसेका अर्का अग्रज पत्रकार भैरव रिसाललाई देखाउँदै भन्नुभयो — उहाँ (भैरव रिसाल, गोपाल योञ्जन) लगायत ७३ जनाले ‘बाग्मती इन्छा’ जारी गर्नुभएको थियो । त्यस इच्छामा बाग्मती नदी फोहोर भए आफ्नो अन्तिम संस्कार त्यहाँ नभइ नजिकको सहायक नदी (जहाँको पानी स्वच्छ होस्) मा लगेर गर्नु भनिएको थियो । त्यो नदी सफाइका लागि दिइएको नैतिक दबाब थियो, उहाँको भनाइ थियो । दीक्षितपछि बोल्दै भैरव रिसालले — नदीको बाटो मात्र सफा गरेर नपुग्ने बरु नदीको जीवन्तताका लागि शिर जोगाउनु पर्ने धारणा राख्नुभयो । शिवपुरी पहिले जस्तो छैन । त्यहाँ केही न केही बनाएर व्यापारिक लाभ लिनमा धेरैका आँखा गडेका छन् । त्यस क्षेत्रमा संरचना बनाउन रोक्नुपर्छ अनि मात्र नदीमा पानी हुन्छ । पानी भयो भने मात्र नदी नदी हुन्छ, रिसालको तर्क थियो ।
त्यस क्रममा बोल्दै बाग्मती सफाइ अभियन्ता किरोरसिंह शाहीले नदी सफाइमा स्थानीय तह र वडाको अगुवाई हुनुपर्ने बताउनुभयो । वडा ११ ले अहिले नदी किनारामा हरियाली बढाउने, नदीमा फोहोर फाल्नेमाथि निगरानी गर्ने, नियमित सरसफाइ गर्नेलगायत काम गरिरहेका छ । वडासचिव रामप्रसाद पौडेल भन्नुहुन्छ — सांस्कृतिक सम्पदासँग यो वडाको पहिचान जोडिएको छ । वडा बिकासको योजना बनाउँदा तथा स्वीकृत योजना कार्यान्वयन गर्दा यसलाई प्राथमिकतामा राख्छौं । बैठकमा नदी सफा राख्नु नदीको फोहोर झिकेर मात्र नहुने बरु समग्र र एकीकृत कार्यक्रमबाट स्वच्छता खोज्नुपर्ने सुझाव आएका थिए ।- चन्द्रमणि भट्टराई

प्रकाशित मिति: बिहिबार, कार्तिक ७, २०७६