मुख्य समाचार स्थानीय

राम्रा अभ्यासलाई निरन्तरता दिन आवश्यक

काठमाडौं । सहरी सफाइका लागि निजी, सामुदायिक तथा गैरसरकारी संस्थाले गरेको कामको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रशंशा गर्नुभएको छ । बुधबार महानगरको सभा कक्षमा त्यस क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रमुख शाक्यले भन्नुभयो — सहरको सरसफाइका लागि तपाईहरुले परिचालन गर्नुभएका जनशक्ति, प्रयोग गर्नुका उपकरण र फोहोर न्युनीकरणका लागि गर्नुभएका अन्य केही अभ्यासहरु अनुकरणीय छन् । ती राम्रा कुरालाई प्रवर्धन गर्नुपर्छ । निजी क्षेत्रले काम गरेका ठाउँमा केही सुधार गर्नुपर्ने ठाउँ पनि छन् । उहाँले थप्दै भन्नुभयो — नराम्रा पक्षलाई सुधारेर महानगर र निजी क्षेत्रको सहकार्य मजबुत बनाउन सकिन्छ । यसका लागि तपाईहरु साना—साना टुक्रामा छरिएर भन्दा अहिलेभएका संस्था मर्जर गरेर संस्था पनि ठूलो बनाउनोस्, क्षमता पनि बढाउनुहोस् र प्रबिधि पनि ल्याउनोस् । क्षमता हेरेर हामी तपाईँको कामलाई बैधता दिने प्रयास गर्छौं । आजको आवश्यकता सहर सफाइ गर्नु हो । यसका लागि जनता पैसा तिर्न पनि तयार छन् । तर, सेवा गुणस्तरीय हुनुपर्छ, महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ ।

महानगरले गएको दशैंको दशमीको एकदिन बाहेक सबै दिन फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गरेको थियो । यो तिहारमा भाइ टीकाका दिनबाहेक अन्य सबै दिन फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन हुन्छ । दशैंमा निजी क्षेत्रबाट प्राप्त सहयोग तिहारमा पनि प्राप्त हुन्छ भन्ने हाम्रो बिश्वाश हो, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — निजी क्षेत्रले सञ्चालन गरेका सवारी साधन, ती साधमा राखिने फोहोरको मात्रालगायत बिषयमा ल्याण्डफिल्ड साइटका स्थानीयका केही गुनासा छन् । ती गुनासालाई अहिले नै सुधार गर्नुपर्छ ।

नगर क्षेत्रलाई सफा राख्न, खुल्ला फोहोरमुक्त सडक बनाउन अहिले काम गरिरहेका निजी क्षेत्रबाट लगानी थप हुन सक्छ । वैठकमा वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीका दाहालले भन्नुभयो — हामी जिम्मेवारी पूरा गर्छौ । यसका लागि महानगरले दुईवटाकाम गर्नुपर्छ । एक अहिले काम गरिरहेका संघ संस्थाहरुलाई आधिकारितका दिनुपर्छ । दुई निजी क्षेत्रको कामको नियमन गर्नुपर्छ । फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान) का महासचिव मित्र घिमिरेका अनुसार काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्ने निजी कम्पनीहरुको संख्या ३२ रहेको छ । यी कम्पनीले गर्ने कामलाई व्यवस्थित गर्न कार्यबिधि बनाएर अघि बढ्ने मेयर साबले आश्वासन दिनुभएको छ । यो हाम्रा लागि सुखद कुरा हो । घिमिरेले थप्दै भन्नुभयो — महानगरले कार्यबिधि बनाएर हामीलाई कामको जिम्मेवारी दिने हो भने काठमाडौं सफा गर्न हामी आफैं सक्षम छौं ।

निजी क्षेत्रले सञ्चाल गर्ने सवारीको गति धेरै भयो, ढालाभन्दा धेरै माथि फोहोर बोकेर लगे भन्ने गुनासोमा जवाफ दिँदै संघका पूर्व अध्यक्ष बासु उप्रेतीले, आफूहरु प्रचलित कानुन मान्न तयार भएको बताउनुभयो । अरु सवारी साधनलाईए लाग्ने कानुन हामीलाई पनि लाग्छ । नियम उल्लङ्घन गर्ने फोहोरका सवारीलाई ट्राफिक नियम लगाउनु पर्छ, उहाँको भनाइ थियो । निजी क्षेत्रबाट काम गर्ने संघसंस्थाहरुले सवारी गति धेरै गर्ने, फोहोर ढालामाथिसम्म राखेर नछोपी लैजाने काम गर्छन् भन्ने ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो रहेको कुरा वातावरण बिभागका प्रमुख श्रेष्ठले सुनाउनुभएको थियो ।

फोहोरलाई व्यवस्थित बिसर्जन गर्न लगानी बोर्डको निर्णय कति समय कुर्ने? बैठकमा प्रश्न उठेको थियो । त्यस्तै साँझ ३ बजेपछि फोहोर बोकेको सवारी ल्याण्डफिल्ड साइटमा पठाउने र नपठाउने भनेर स्थानीयबाट २ थरीका माग आएका छन् । यसलाई कसरी सम्बोधन गर्ने भन्ने सवाल पनि बैठकको महत्वपूर्ण बिषय थियो । -चन्द्रमणि भट्टराई

प्रकाशित मिति: बिहिबार, कार्तिक ७, २०७६