समाचार

राष्ट्रपति म्यान्मार प्रस्थान : विमानस्थलसम्मको सफर हेलिकोप्टरमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घकालागि प्रस्थान गर्नुभयो । म्यान्मार गणतन्त्र सङ्घकालागि राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा यही असोज २९ देखि चार दिनको राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको हो । राष्ट्रपति भण्डारी निवासबाट हेलिकोप्टरमार्फत् विमानस्थलसम्म गुग्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने कार्यक्रमका साथै राष्ट्रपति र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने समेत जनाइएकोछ ।
राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा नेपाली मूलका नागरिकसँग भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने पनि जनाइएको छ । भ्रमणकालागि प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव लगाएत राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल ३० गते बैंकक हुँदै म्यान्मारको राजधानी नेपित पुग्ने जनाइएको छ ।
नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो भईसकेको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० मा भ्रमण गर्नु भएपछि नेपालबाट उच्चस्तरको भ्रमण भएको थिएन ।

प्रकाशित मिति: बुधबार, अशोज २९, २०७६