हेडलाईन न्युज

प्रेस काउन्सील नेपालको स्वर्ण महोत्सव राष्ट्रपति भवनमा सम्पन्न

सुनकोशी न्यूज, २०७६ असोज ६ रात्री १०ः३० बजे
काठमाण्डौं । आज नेपाल प्रेस काउन्सीलले आफ्नो स्थापनाको पचासौं वर्षगाँठ मनाएको छ । सितल निवासस्थित राष्ट्रपति भवनको सभा हलमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
२०२७ साल असोज ६ गते स्थापना भएको प्रेस काउन्सील नेपालले आफ्नो स्वर्ण जयन्तीका रुपमा यो वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा पत्रकारिताको विभिन्न क्षेत्र र विधामा विशिष्ट योदान पु¥याएका वरिष्ठ तथा कृयाशील युवा पत्रकारहरुलाई विभिन्न खाले पुरस्कारबाट पुरस्कृत गरिएको थियो । जसमा वरिष्ठ पत्रकार डा.शुरेस आचार्य र गोविन्द बहादुर थापा पनि रहेका छन् ।
कार्यक्रममा विश्व प्रेस काउन्सीलकी अध्यक्ष डा. सुले अकरको पनि सहभागिता रहेको थियो । उहाँले सन् २०८९ सालमा मलेसियाको क्वालालाम्पुरमा केही पत्रकारहरुको सहभागितामा एउटा विशिष्ट परिस्थितिमा विश्व प्रेस काउन्सीलको गठन भएको बताउनु भयो । उहाँले पत्रकारहरु शिष्ट र मर्यादित हुनुपर्ने बताउनु भयो । संसारभरी पत्रकारमाथि हुने शिंसा बिकराल बन्दै गएको प्रति पनि उहाँले चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रममा श्रीलंका, भारत, म्यानमार लगायत विभिन्न देशका पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
सभाकी प्रमुख अतिथि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारितामा मानवीय संवेदनशीलता, वातावरण संरक्षण, कृषि उत्पादन, प्राकृतिक संरक्षण , मौलिक संस्कृति र ऐतिहासिक धरोहर संरक्षणको विषय गम्भीर रुपले उठाउनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय पत्रकारितामा तल्लो वर्गका जनताको आवाज मुखरित हुनु सकारात्मक भएको बताउनु भयो । पत्रकारले राष्ट्रिय सुरक्षाको विषय र अन्तराष्ट्रिय कुटनैतिक मर्यादामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नजिकिदै गरेको चाड दशैको शुभकामना दिन पनि भुल्नु भएन।
त्यसैगरी सूचना तथा प्रसारण मन्त्री गोकुल बास्कोटाले अहिले हामी पार्टी पत्रकारिताबाट हेडलाईन पत्रकारितामा फड्को मारेका छौं भन्नुभयो। पत्रकारले मिडियाको मूल धर्म बिर्सिनु हुदैन, स्वतन्त्रताको सिमा हुदैन तर मर्यादाको सिमा हुन्छ, उहाँले भन्नुभयो। आर्थिक स्रोतबिना स्वतन्त्र पत्रकारिता हुदैन, त्यसैले स्रोतको पारदर्शिता हुनुपर्छ भन्दै त्यसको लागि मापदण्ड बनाईएको बताउनु भयो। उहाँले नयाँ आचार संहितामा स्वनियमनको व्यवस्था गरिएको उल्लेख गर्नुभयो। युट्युब र ट्विटरले सामाजिक संजालमा पार्ने प्रभावलाई ध्यानमा राखेर अब यसलाई पनि नियमनभित्र ल्याईने जानकारी दिनुभयो। उहाँले फ्याक्ट चेकर सिस्टम लागु गरेर सत्य परिक्षण गर्ने ब्यवस्था आबश्यक भएको पनि बताउनु भयो । मिडिया कानुन व्यक्ति हेरेर होईन सिस्टम चलाउन बनाईन्छ’ उहाँले भन्नु भयो ।
पुरस्कृत हुनेहरुको तर्फबाट कृतज्ञता मन्तव्य राख्ने क्रममा डा. शुरेस आचार्यले पुरस्कृत गर्ने मापदण्डबारे प्रश्न गर्नुभयो । कसैलाई खुसी पार्न पुरस्कृत गर्ने पुरानो चलनको निरन्तरता गलत भएको उहाँको भनाई थियो । उहाँले आफू कुन मापदण्डबाट केका लागि पुरस्कृत भएँ भनेर थाहा नपाएको गुनासो गर्नुभयो ।
कार्यक्रम समापनपछि पत्रकार तथा पाहुनाहरुका लागि राष्ट्रपति भवनमै रात्रीभोजको समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति: सोमवार, अशोज ६, २०७६