अर्थ/विजनेस

पेट्रोलियम पाइपलाइन सुरु भएसँगै २४ वर्षको सपना साकार, लगत्तै मूल्य घट्यो

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्तरूपमा स्वीच थिचीे उक्त पाइपलाइनको मंगलबार उद्घाटन गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीहरूले आ–आफ्नो ठाउँबाट भिडियो कन्फरेन्समार्फत सो पाइपलाइनको उदघाट्न गरेका थिए ।

भारतीय आयल कर्पोरेशनले (आईओसी) का पदाधिकारीहरूले नेपाल आयल निगम (एनओसी) लाई डिजेल हस्तान्तरण गरेपछि यो परियोजना सञ्चालनमा आएको हो । मंगलबार पहिलो खेपमा भारत बिहारको मोतिहारीबाट बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा पहिलोचोटि सात हजार किलो लिटर डिजेल आइपुगेको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लागतमा बनेको उक्त परियोजनामा नेपालको रु ७५ करोड लगानी रहेको । परियोजनामा भारत सरकारको भारतीय रु चार अर्ब ४० करोड आर्थिक सहयोग रहेको छ । सो पाइपलाइनको कूल लम्बाइ ७० किलो मिटर रहेको सो पाइपलाइनको लम्बाइ भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीवापत अब वार्षिक रु दुई अर्ब बचत हुने विश्वास लिइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।
यसैबीच पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए । निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य ९५ रूपैयाँ प्रतिलिटर भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६