खेल

एसीसी यू–१९ क्रिकेट : नेपालको दोस्रो हार

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा श्रीलंकासँग हारेको नेपाल आइतबार भएको खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको हो। टस हारी पहिलो ब्याटिङ गरेको नेपालले बंगलादेशलाई २६२ रनको विजय लक्ष्य दिएको थियो।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २६१ रन बनाएको थियो। नेपालका लागि ओपनर पवन सर्राफ र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। उनको योगदान जितका लागि पर्याप्त भएन। सर्राफले १११ बलको सामना गर्दै १ छक्का र ८ चौकासहित सर्वाधिक ८१ रन बनाएकाा थिए। त्यस्तै आक्रामक ब्याटिङ गरेका जोराले ३७ बलमा ३ छक्का र ३ चौकासहित ५६ रन बनाए।

सुरुवातमा सुस्ताएको नेपालको ब्याटिङ मध्यक्रममा सर्राफ र जोराले उकासेका हुन्। नेपालको स्कोर सम्मानजनक अवस्थामा पुर्या‍उन कुशल मल्लले आक्रमक रूपमा २८ रनको योगदान गरे। उनले ३ छक्का र १ चौका हिर्काए। ओपनर रित गौतम ३२ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेल १४ रनमै सीमित भए। त्यस्तै भीम सार्कीले २१ रन जोडे। तेस्रो क्रममा आएका आसिफ शेख भने १३ बलको सामना गरी ३ रनमै क्याच आउट भए।

बंगलादेशका लागि तान्जिम हसन सकिब र शाहिन अलामले समान २÷२ विकेट लिए। त्यस्तै मृत्युन्जय चौधरी, रकिबुल हसन तथा मिनहजुर रहमानले १-१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले राम्रो ओपनिङ गर्न सकेन। सुरुवाती ब्याटिङ धर्मराए पनि पाँचौँ क्रममा आएका अकबर अलीले नटआउट ९८ रनको योगदान दिँदै टिमलाई जित दिलाए।

बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। उसका लागि टोहिद रिदोले ६० रन बनाए। सुरुवाती २ विकेट सस्तैमा गुमाएको बंगालादेश संहालिएर खेलेको थियो।

विकेट लिन नसक्दा नेपाल इतिहास रच्नबाट चुकेको हो। नेपालका लागि कमलसिंह ऐरीले २ विकेट लिए। उनले ८ ओभर बलिङ गर्दा ५९ रन खर्चिए।  त्यस्तै रशिद खान र हरिबहादुर चौहानले १–१ विकेट लिए। नेपालले अब अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्नेछ।

 

प्रकाशित मिति: आइतवार, भदौ २२, २०७६