समाचार

डेंगु लागेका कृषि मन्त्री ग्राण्डी आईसीयूमा, हेटौडाका पूर्व सभासद् पहरीलाई पनि डेंगु

सुनकोशी न्युज, २० भाद्र २०७६, ९ः१५
काठमाण्डौं । डेंगु ग्रस्त हुनुभएका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल बलदेव ग्राण्डी अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई ग्राण्डी अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको उहाँको सचिवालयले जनाएको छ ।
गत हप्ता वुटवल पुगेर फर्कनुभएका मन्त्रीलाई मगलबार अचानक टाउको दुखेर ज्वारो आएपछि परिक्षणका लागि निदान अस्पताल पुग्नुभएको थियो । अस्पतालले उहाँलाई ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा परिक्षणका लागि पठाएको थियो । टेकु अस्पतालले उहाँलाई डेंगु सक्रमण भएको बताएपछि सघन उपचारको लागि ग्राण्डी अस्पताल लगिएको सचिवालयले बतायो ।
आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्था नभए पनि पर्याप्त आराम गर्नुपर्ने तर भेटघाटमा आउने शुभचिन्तकहरुको भिडले विरामीलाई झन धेरै असर गर्ने अवस्थाका कारण त्यसलाई नियन्त्रण गर्न उहाँलाई आईसीयूमा राखेर उपचार गरिएको मन्त्रीका निजी सचिव कृषि प्राविधिज्ञ सुरेन्द्र केसीले बताउनुभयो ।
अस्पतालको मेडिकल डाइरेक्टर डाक्टर चक्रपाणि पाण्डेका अनुसार खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ । उहाँको अवस्था अहिले सामान्य रहेको छ ।
मन्त्री बाबुसँगै बुटवल गएका छोरालाई पनि डेगु लागेर उपचार भइरहेको स्रोले बतायो ।
यसअघि स्वास्थ्य मन्त्रालयले ड्ंगु पूर्ण रुपमा नियन्त्रणमा आएको र कुनै समस्या नरहेको बताउदै आएको थियो । मन्त्रीका बाबुछोरा दुबैजनालाई एकैसाथ डेंगु लागेपछि सरकारको भनाईमा सत्य नरहेको स्पष्ट भएको छ ।

हेटौडाका पूर्वसभासद्लाई पनि डेंगु
त्यसैगरी पूर्व सविधानसभामा समानुपातिकबाट सभासद् मनोनित शेरबहादुर पहरी विशाललाई पनि डेगु लागेको छ । हाल उनको हेटौडास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ज्वरो र टाउको दुखाई कम नभएको उहाँकी श्रीमति सम्पूर्ण पौडेलले बताउनु भयो । बुधबार बेलुका अस्पताल भर्ना गरिएको पहरीलाई अझै केही दिन सघन उपचारका लागि अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६