समाचार

सहिद विशाल–कुमार स्मृति दिवस मरिणमा मनाइयो

सुनकोशी न्युज, २०७६ भाद्र २०
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले सहिदको बलिदानी र त्यसले निर्दिष्ट गरेको बाटोबाट सहिद परिवारले विचलित हुन नहुने बताउनुभएको छ । नेकपा मरिण संगठन कमिटीद्वारा मरिणको महास्वेतामा शुक्रबार आयोजित १५ औं विशाल–कुमार स्मृति दिवसमा नेता गजुरेलले भन्नुभयो, “सहिदको बलीदानीको जगमा बनेको संविधानमा स्पष्ट रुपमा समाजवादतर्फ यात्रालाई उल्लेख गरिएको छ । पार्टी त्यसबाटोबाट विचलित हुनेछैन ।”
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज विषमलाल अधिकारी दनुवारले पार्टी कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले कार्यशैलीमा सुधार गर्दै जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै, नेकपाका सिन्धुली अध्यक्ष एवं प्रदेश सभा सदस्य राजन दाहालले सहिदको बालिदानीले नेपालको संविधान लेखिएको भन्दै दलिदानीको जगमा बनेको सरकारले जनहितमा काम गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको विचार, नीति र कार्यक्रम समाजवादको प्राप्तिको दिशातर्फ अगाडि बढेको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं पूर्व सभासद् निरु दर्लामीले सहिदको सम्मानमा पार्टी र सरकारले ध्यान दिन नसकेको हो कि भन्ने शंका व्यक्त गर्नुभयो । सहिद विशाल पत्नी दर्लामीले कार्यक्रम गर्दा प्रतिष्ठानलाई ओझलमा पारिएको समेत गुनासो गर्नुभएको थियो ।

तत्कालीन नेकपा माओावदीका केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र बैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ को २०६१ साल भदौ २० गते धनुषाको धनछवारमा सरकारी सुरक्षाकर्मीको कारवाहीमा हत्या गरिएको थियो ।

मरिण गाउँपालिकाले वडा नं ७ स्थित बाह्रविसेमा शहीद विशाल–कुमार स्मृति प्रतिष्ठानको भवन र पार्क निर्माण गर्न करिव सात विगाह जग्गा उपलब्ध गराएको छ । सो पार्कको निर्माण कार्यको शुभारम्भ नेकपाका अध्यक्ष प्रचण्डले गत वर्ष गर्नुभएको थियो।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६