समाचार

सहकारी विकास बोर्डको २२ रोपनी जग्गा व्यापारिक घरनालाई ‘लिजमा’ !

सुनकोशी न्युज, २०७६ भाद्र १८
काठमाडौँ । राष्ट्रिय सहकारी विकास वोर्डका नाममा रहेको बहुमुल्य जमिन एक व्यापारिक घरनालाई सुम्पने तयारी भएको छ ।
‘बोर्डको स्वामित्वमा रहेको पुल्चोकको २२ रोपनी जग्गा ३० वर्षका लागि भाडामा दिने अन्तिम तयारी गरिएको हो । तर यसबारे बोर्डका कुनैपनि कर्मचारीलाई थाहा समेत दिइएको छैन,’ बोर्डका एक कर्मचारीले रातोपाटीलाई बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल र वोर्डका सहअध्यक्ष दक्ष पौडेलको मिलेमतोमा  ललितपुरको पुल्चोकस्थित बोर्ड स्वामित्वको उक्त बहुमुल्य जमिन कौडीको मूल्यमा गुपचुप रुपमा भाडामा दिन लागिएकोमा बोर्डका कर्मचारीहरुले नै विरोध गरेका छन्  ।
‘सिजी डेभलपर्स प्रालि’ लाई उक्त जग्गा अत्यन्तै सस्तो मूल्यमा लिजमा दिन चलखेल सुरु भएको चाल पाएका केही कर्मचारीले त्यसको विरोध गरेका हुन् ।
जग्गा भाडामा लिएर सो स्थानमा होटल बनाउने सिजीको तयारी छ । बोर्डको अध्यक्ष मन्त्री हुने व्यवस्था छ । बोर्ड अध्यक्ष समेत रहेकी मन्त्री अर्याल र सहअध्यक्ष पौडेलबीच जग्गा लिजमा दिनेबारेमा पटकपटक छलफल भएर प्रकृया अघि बढेको ती कर्मचारीले आरोप लगाए ।
यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकलमा पनि उक्त जग्गा सिजीलाई दिने तयारी भएको थियो ।
सो अनुसार प्रस्ताव तयार गरेर निर्णय नै भएपनि रोकिएको थियो । त्यसबेला पनि बोर्ड सञ्चालक समितिमै विवाद भएपछि सो योजना स्थगित भएको बोर्डका एक सदस्यले जानकारी दिए ।
मन्त्री अर्याल भन्छिन् : छलफल भएको छैन
 मन्त्री अर्यालले उक्त जग्गा ‘लिज’ मा दिने प्रकृयाबारे आफुलाई त्यति धेरै थाहा नभएको प्रतिकृया दिइन् । उनले आफ्नो कार्यकालमा त्यसबारे खासै छलफल समेत नभएको भन्दै अघिल्लो सरकारले निर्णय गरेको र सम्झौता समेत भएपनि तोकिएका शर्त पालना नभएको भन्नेमात्रै थाहा पाएको जनाइन् ।
‘तपाईंलाई यो सूचना कसरी आयो ? मलाई थाहा भएन । तर मलाई थाहा भएअनुसार सो जग्गा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै पालमा सिजी गु्रपलाई दिने सहमति भएको थियो । तर, तोकिएका शर्तहरु पालना नगरेकाले बोर्ड व्यवस्थापन सहमति अहिले तोड्ने गृहकार्यमा लागेको छ,’ मन्त्री अर्यालले भनिन् ।
तर, मन्त्री अर्यालले बोर्डको जग्गा भाडामा दिनेबारेमा आफ्नो कुनै योजना नभएको दावी समेत गरिन् ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६