सुनकोसी न्यूज
जेष्ठ ६ गते, बुधबार
काठमाडौं । विगत तीन सातादेखि अवरुद्ध बनेको नेपालबाट भारततर्फको चिया निर्यात पुनः सहज भएको छ। भारतको ‘टी बोर्ड अफ इन्डिया’ले अनिवार्य नमुना परीक्षणको व्यवस्था फिर्ता लिएपछि नेपाली चिया निकासी पूर्ववत् सञ्चालन हुने भएको हो।
भारतीय टी बोर्डले जारी गरेको नयाँ संशोधित सूचनाअनुसार अब भारतको आन्तरिक बजारमा खपत हुने चियाका लागि अनिवार्य परीक्षण गर्नुपर्ने छैन। यससँगै प्रत्येक ट्रकलाई नाकामा रोकेर नमुना परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ।यसअघि भारतले ट्रकपिच्छे नमुना परीक्षण अनिवार्य गर्दै शुल्कसमेत तोकेको थियो। परीक्षण रिपोर्ट आउन कम्तीमा दुई सातासम्म लाग्ने भएपछि नेपाली चिया निर्यात प्रभावित बनेको थियो।
परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासको पहलपछि भारतले सहजीकरण गरेको बताइएको छ। व्यवसायीहरूले भारतको पछिल्लो निर्णयले किसान तथा चिया उद्योगलाई राहत मिलेको बताएका छन्।यद्यपि, भारतबाट तेस्रो मुलुकमा पुनः निर्यात गरिने चियाका लागि भने परीक्षणको व्यवस्था यथावत् रहने जनाइएको छ।

















Add Comment