मुख्य समाचार समाचार हेडलाईन न्युज

प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना मल्ल २० दिन बिदामा

सुनकोसी न्यूज

जेष्‍ठ ६ गते, बुधबार

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन्। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै न्यायाधीश प्रधान आजदेखि बिदामा बसेकी हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश प्रधानले आफैंले बिदा स्वीकृत गरेर बिदामा बसेकी हुन्। मंगलबार डा. शर्माले प्रधानन्यायाधीशको पदभार ग्रहण गर्नुअघि नै उनले बुधबारदेखि लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी थिइन्।

यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट रहेको चर्चा थियो। सिफारिस भएको दोस्रो दिन उनले कामु प्रधानन्यायाधीशको हैसियतमा फुलकोर्ट बैठकसमेत बोलाएकी थिइन्।

फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर नोकझोक भएको बताइन्छ। त्यसपछि डा. शर्मा वैशाख २५ गतेदेखि इजलासमा बसेका थिएनन्। प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै भने उनी आजदेखि पुनः इजलासमा बसेका छन्।

प्रकाशित मिति: बुधबार, जेष्ठ ६, २०८३

 

 

ताजा अपडेट