मुख्य समाचार समाचार हेडलाईन न्युज

बाढी–पहिरोले देशभर सडक प्रभावित, बीपी राजमार्गसहित यी सडक अवरुद्ध

सुनकोसी न्यूज

जेष्‍ठ ६ गते, बुधबार

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। सो क्षेत्रमा वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ।यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खसेपछि कोशी राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ। सुरक्षाका कारण उक्त सडकमा सवारी आवागमन बन्द गरिएको जनाइएको छ।

गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।त्यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–२ मा पहिरोको जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्डमा पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।प्रहरीले वर्षायाममा अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरे मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ६, २०८३

 

 

ताजा अपडेट