सुनकोसी न्यूज
वैशाख ९ गते बुधबार
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबार सम्बन्धी विषयमा चौतर्फी आलोचना बढेपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाबारे जानकारी दिँदै आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको बताएका छन्। उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उनले लेखेका छन्। पछिल्ला दिनमा नागरिक तहबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई आफूले गम्भीर रूपमा लिएको पनि उनले बताएका छन्।
उनका अनुसार पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व हुन सक्ने भएकाले त्यसबाट बच्न राजीनामा दिनु उपयुक्त ठानेका हुन्। ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको हुँ,’ उनले स्पष्ट पारे।
गुरुङले सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै अहिले देशमा उठिरहेको सुशासनको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन्।
साथै, उनले सञ्चारकर्मी र सर्वसाधारणलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गर्दै केही मिडियाकर्मीहरूमाथि पनि अप्रत्यक्ष रूपमा प्रश्न उठाएका छन्।
उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै अब सम्बन्धित निकायबाट निष्पक्ष छानबिन हुने अपेक्षा व्यक्त गरेका छन्।















Add Comment