मनोरञ्जन मुख्य समाचार समाचार हेडलाईन न्युज

आशा भोसलेको राजकीय सम्मानसहित अन्त्येष्टि आज, संगीत जगत शोकमा

सुनकोसी न्यूज

चैत्र ३० गते सोमबार

मुम्बई । भारतीय गायिका आशा भोसलेको अन्त्येष्टि आज मुम्बईमा राजकीय सम्मानसहित गरिँदैछ। ९२ वर्षको उमेरमा निधन भएकी भोसलेको पार्थिव शरीरलाई अपराह्न ४ बजे शिवाजी पार्कमा अन्त्येष्टि गरिने कार्यक्रम छ।

ब्रीच क्यान्डी अस्पतालमा निधन भएपछि बिहानैदेखि उनको निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि कलाकार, खेलाडी तथा सर्वसाधारणको भीड लागेको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससहित विभिन्न राजनीतिक तथा सांस्कृतिक व्यक्तित्वले श्रद्धाञ्जली अर्पण गर्ने भएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले भोसलेलाई “भारतीय संगीतका सबैभन्दा प्रतिष्ठित र बहुआयामिक स्वरमध्ये एक” भन्दै श्रद्धाञ्जली दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले उनको निधनलाई संगीत क्षेत्रका लागि “अपूरणीय क्षति” भनेकी छन्।

बलिउड कलाकार शाहरुख खान, काजोल, करिना कपूर, विक्की कौशल, श्रेया घोषाललगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। क्रिकेटर सचिन तेन्दुलकरले उनलाई “परिवारजस्तै” भन्दै स्मरण गरेका छन्।

आईपीएल खेलमा मुम्बई इन्डियन्सका खेलाडीले कालो पट्टी बाँधेर एक मिनेट मौन धारण गर्दै सम्मान प्रकट गरेका थिए।

७ दशकभन्दा लामो सांगीतिक यात्रामा हजारौँ गीत दिएकी भोसलेको निधनसँगै भारतीय संगीतको एक युग अन्त्य भएको रूपमा लिइएको छ।

प्रकाशित मिति: सोमवार, चैत्र ३०, २०८२

 

 

ताजा अपडेट