मुख्य समाचार समाचार हेडलाईन न्युज

भेषभूषामा विविधता, शपथमा एकता: नवनिर्वाचित सांसद आज शपथ लिँदै

सुनकोसी न्यूज

चैत १२ गते बिहिबार

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।

शपथ समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। विशेष कुरा, यसपटक ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने भएका छन्, जसले नेपालको बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई झल्काउनेछ।

शपथ कार्यक्रममा सहभागी हुन सांसदहरू आ–आफ्नै परम्परागत तथा सांस्कृतिक भेषभूषामा सजिएर सिंहदरबार पुगेका छन्, जसले संसद् परिसरलाई रंगीन र सांस्कृतिक विविधताले भरिएको बनाएको छ।

संसद् सचिवालयका अनुसार सांसदहरूलाई शपथअघि आवश्यक कागजातसहित तोकेको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन निर्देशन दिइएको थियो। सोही अनुसार सांसदहरू धमाधम संसद् भवनमा उपस्थित भइरहेका छन्।

आजको शपथ समारोहले नयाँ प्रतिनिधिसभाको औपचारिक सुरुवातसँगै सांस्कृतिक पहिचान, भाषिक विविधता र लोकतान्त्रिक अभ्यासको सुन्दर समिश्रण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०८२

 

 

ताजा अपडेट