सुनकोसी न्यूज
चैत १२ गते बिहिबार
काठमाडौं । गते २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा उल्लेखनीय विरोधाभास भेटिएको छ। प्रतिवेदनले प्रहरीका उच्च अधिकारी एआईजी सिद्धिविक्रम शाहलाई एकै व्यक्तिका रूपमा कारबाही र पुरस्कार दुवै सिफारिस गरेको देखिएको हो।
प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत (हाल प्रहरी एकेडेमीमा) रहेका एआईजी शाहबारे प्रतिवेदनका फरक–फरक पृष्ठमा फरक निष्कर्ष प्रस्तुत गरिएको छ।
प्रतिवेदनको पृष्ठ ६८९ मा भने एआईजी शाहलाई पुरस्कारका लागि योग्य ठहर गरिएको छ। २४ भदौमा टंगालस्थित भाटभटेनी र नक्सालस्थित हिल्टन होटलमा भएको आगजनीपछि आक्रमणकारी समूहले प्रहरी प्रधान कार्यालयमा प्रवेश गर्न खोज्दा शाहले नेतृत्वदायी भूमिका निर्वाह गर्दै मुख्य गेटभित्र प्रवेश गर्न नदिएको उल्लेख छ। यस कार्यले प्रहरी मुख्यालय सुरक्षित राख्न महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई पुरस्कृत गर्नुपर्ने आयोगको निष्कर्ष छ।
तर, यही प्रतिवेदनको पृष्ठ ७२५ मा भने एआईजी शाहलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। कर्तव्य पालनामा कमजोरी देखिएको तथा जिम्मेवारी निर्वाहमा त्रुटि भएको आधारमा कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रहरी ऐन २०१२ को दफा ९ को उपदफा (४) र प्रहरी नियमावली १०९ अनुसार कारबाही गर्नुपर्ने उल्लेख गर्दै आयोगले शाहमाथि कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।
यसरी एउटै व्यक्तिमाथि एकै प्रतिवेदनमा फरक–फरक मूल्यांकन प्रस्तुत भएपछि आयोगको निष्कर्षमाथि प्रश्न उठ्न थालेको छ।

















Add Comment