सुनकोसी न्यूज
चैत १२ गते बिहिबार
काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ। बिहीबार आयोजित पहिलो बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।
संघीय संसद् सचिवालयका अनुसार दलको सिट संख्याका आधारमा सांसदहरूको बस्ने व्यवस्था मिलाइएको छ। सोहीअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई एउटै लहरमा बस्ने गरी सिट व्यवस्थापन गरिएको थियो। ती दलका सांसदहरूले सोही स्थानबाट शपथ ग्रहण गरेका थिए।
शपथ ग्रहणपछि प्रत्येक सांसदलाई संघीय संसद् सचिवालयले एक–एक वटा झोला उपलब्ध गराएको छ। उक्त झोलामा नेपालको संविधान, प्रतिनिधिसभा नियमावली तथा संयुक्त बैठक सञ्चालन नियमावली समावेश गरिएको छ।
विशेष रूपमा, यसपटकको शपथ समारोहमा बहुभाषिकता पनि देखिएको छ। सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।
यस्तै, सांसदहरू आ–आफ्नै मौलिक तथा सांस्कृतिक भेषभूषामा सिंहदरबार पुगेका थिए, जसले संसद्मा नेपालको सांस्कृतिक विविधता झल्काएको छ।

















Add Comment