मनोरञ्जन विज्ञान शिक्षा/स्वास्थ्य साहित्य

सुनिल अधिकारीका चार मुक्तक

मुक्तक

सज्जन/दुर्जन मान्छे यहीँ शहरभित्रै मिल्छ
छान्न सके, थोरै अमृत जहरभित्रै मिल्छ
आफ्नै जीवन परिधिमा मात्र मिल्दैन खुशी
थोरै सही, सुख अरूको रहरभित्रै मिल्छ ।

मुक्तक

खुम्चेको विचारभन्दा नधड्किने छाती भएकै राम्रो
पापको भागीदार बन्नुभन्दा बरु घाती भएकै राम्रो
चिप्लो घसेर टिक्नु छैन, आत्मा बन्धक राखी बिक्नु छैन
सत्य बोल्दा जिब्रो पोले पनि म नजाती भएकै राम्रो ।

मुक्तक

तिम्रो आस्थामा अश्रद्धा घोलेर न दङ्ग्याउने चाह राखें
न मेरो प्रेमलाई वासनाको रङ्गमा रङ्ग्याउने चाह राखें
सावित्री बन्न कर गरिनँ; न लिएँ तिम्रो अग्निपरीक्षा नै
न द्रौपदी बनाएर भरिएको सभामा नङ्ग्याउने चाह राखें ।

मुक्तक

छातीको देब्रे पाटोमा नमेटिने टाटो लाग्न दियो
न बसी खान दियो, न आफ्नो बाटो लाग्न दियो
पुरानो घाउको पीडामा नजानिँदो मिठास हुन्छ रे
त्यसैले कोट्याईरह्यो घाउ, न खाटो लाग्न दियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१