मनोरञ्जन मुख्य समाचार समाचार हेडलाईन न्युज

‘लालीबजार’ सम्बन्धी मुद्दामा उच्च अदालत सक्रिय, अन्तरिम आदेशबारे छलफल हुने

सुनकोसी न्यूज

जेष्‍ठ ६ गते, बुधबार 

काठमाडौं । फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले बुधबारदेखि पुनः सुनुवाई सुरु गरेको छ। न्यायाधीश गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले विपक्षी पक्षलाई छलफलका लागि झिकाउन आदेश दिएको हो।

यसअघि उच्च अदालत पाटनले फिल्म प्रदर्शन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गर्दै प्रदर्शनका लागि बाटो खुला गरेको थियो। उक्त आदेशविरुद्ध अभियन्ता नेपालीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

गत साता सर्वोच्च अदालतले विवादित फिल्म अवलोकन गरी आवश्यक विषय बुझ्न र ७ दिनभित्र अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न उच्च अदालत पाटनलाई निर्देशन दिएको थियो। सोही आदेशअनुसार बुधबार पुनः सुनुवाई अघि बढाइएको हो।

मुद्दामा सूचना तथा सञ्चार मन्त्रालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाइएको छ।षट्कोण आर्ट्सद्वारा निर्मित फिल्म ‘लालीबजार’ हाल देशभरका हलमा प्रदर्शन भइरहेको छ। फिल्मले वादी समुदायकी एक महिलाले छोरीको शिक्षा र पालनपोषणका लागि गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ६, २०८३

 

 

ताजा अपडेट