मुख्य समाचार समाचार हेडलाईन न्युज

मुगु–जुम्ला पुगे प्रधानमन्त्री, निर्वाचन सफल बनाउनेहरूप्रति सम्मान र धन्यवाद

सुनकोसी न्यूज
चैत ५ गते, बिहिबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्न प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा पुगेकी छन्। उनले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा नागरिकको योगदानको उच्च प्रशंसा गरेकी छन्।

प्रधानमन्त्री कार्की बिहीबार बिहान मुगु जिल्लाको रारा क्षेत्र पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्। त्यसपछि जुम्लाको खलंगामा पुगेर सुरक्षा निकायसँग छलफल गर्दै सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वयका साथ निर्वाचन सम्पन्न गरिएकोमा सराहना गरिन्।

उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै शान्तिपूर्ण र सफल निर्वाचनका लागि देखाइएको एकता, सहकार्य र सद्भावप्रति विशेष धन्यवाद व्यक्त गरिन्।

“देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ,” प्रधानमन्त्री कार्कीले भनिन्।

यसैक्रममा उनले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन समेत गरिन्। सो अवसरमा विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाले लालीगुराँस फूल दिएर प्रधानमन्त्रीको स्वागत गरेका थिए।

प्रधानमन्त्रीको यो भ्रमणलाई कर्णाली क्षेत्रका लागि उत्साहजनक र महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: बिहिबार, चैत्र ५, २०८२

 

 

ताजा अपडेट