मुख्य समाचार

जोरपाटी सुन्दरीजल सडक विस्तार– ९० करोड ‘स्वाहा’, काम शून्य ! स्थानीयले अवरोध गर्दा काम रोकिएको ठेकेदारको भनाइ

काठमाडौं– राजधानीका अधिकांश सडकहरु खाल्डाखुल्डीले भरिएका छन् । वर्षा लाग्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकको नियती नै बनेको छ । पैदल यात्री र राजधानीवासीले सरकारसँग धुलो र हिलो नियन्त्रणका लागि माग गरेको वर्षौं वित्यो तर न धुलो हट्यो, न हिलो ।

सरकारले मेलम्ची खानेपानी, अधिकांश सडकहरु विस्तारका कारण धुलो र धुँवा नियन्त्रणमा समस्या भएको बताउँदै आएको छ ।

कतिपय स्थानमा त स्थानीय जनताले सडक पीच नभएको भन्दै सरकार विरुद्ध प्रदर्शन नै गरेका छन् भने हिलो सडकमा हिलो भएको बेलामा धान रोपाइ गरेर सरकारलाई ‘गिज्याएका’ छन् ।

जोरपाटी– सुन्दरीजल सडकको दूरावस्था

जोरपाटी—सुन्दरीजल सडकखण्ड देशको केन्द्रीय राजधानीको सडक हो भन्दा लाज लाग्ने अवस्थामा छ । पीच कम, खाल्डाखुल्डी धेरै भएको सडक हो यो ।

यो सडकको दूरावस्थाका कारण सवारी दुर्घटनाको संख्या पनि बढ्दै गइरहेको छ । गत असार ५ गते सुन्दरीजलबाट रत्नपार्क आउने यात्रुबस गोर्कणस्थित रमझमचोकमा दुर्घटना भयो । दुर्घटनामा परी १ जनाले ज्यान गुमाए भने २० जना घाइते भए ।

सडककै कारण सवारी दुर्घटना दोहोरिरहेका छन् । सडकमा बन्दै गएका ठूला—ठूला खाल्डाखुल्डीका कारण सवारी साधन गुडाउन मुस्किल भइरहेको चालकहरुको भनाइ छ ।

संघीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहेपनि जनताका समस्या समाधानतर्फ कसैको ध्यान नगएको गोकर्णका स्थानीय हरिकुमार श्रेष्ठको गुनासो छ ।

अहिले यो सडकको चौडा ८ मिटर छ । साँघुरो देखिने यो सडकमा सवारी आवतजावत र पैदलयात्रुलाइ हिँड्न उस्तै कठिन छ ।

सडक विस्तार र मर्मतका लागि ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि न त सडक विस्तार हुन सकेको छ न त मर्मत सम्भार नै ।
वर्षेनि बाटोको समस्या झेल्दै आएका स्थानीयहरुले सम्बन्धित निकायको ध्यान खिच्नका लागि धेरै पटक आन्दोलनसमेत गरे र सवारी आवागमनलाई नै प्रभावित पारे । तर, विस्तार कार्य भने शून्य अवस्थामै छ ।

११/११ मिटरको चौडा बनाएर सडक विस्तार गर्ने भनेपनि स्थानीय त्यसमा मन्जुर नहुँदा काम अघि बढ्न नसकेको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

किन सुरु भएन काम ?

भौतिक संरचना हटाउन नसक्दा यो सडक विस्तार कार्य शुरु हुन नसकेको आयोजानाका प्रवक्ता विश्व बिजयलाल श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

उनका अनुसार ७ किलोमिटर लम्बाइको जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार गर्नका लागि २०७३ साल असार ३ गते आशिष÷सि.एम.जे.भी ले ठेक्का पाएको थियो ।

ठेक्कामा गएको ४ वर्ष बितिसक्दा पनि सडक विस्तारको काम शुरु नभएको श्रेष्ठले खबरहबसँग बताए ।

‘सम्झौतासँगै सडकको मध्यभागबाट ११/११ मिटर दायाँबायाँका भौतिक संरचना हटाउन पर्ने भनि सूचना प्रकाशन गरिकएको थियो’ उनले भने ‘७ किलोमिटर लम्वाइको यो सडकमा ९ सय वटा घर भत्काउनुपर्ने अवस्था छ’ ।

स्थानीयले घर भत्काउन नदिएपछि सो सडक विस्तारको काम ठप्प बन्न पुगेको उनले बताए ।

स्थानीयले संगठित रुपमा अपरोध सृजना गराएकाले विस्तार कार्य अघि बढ्न नसकेको बताउँदै श्रेष्ठ भन्छन्, ‘स्थानीयले जग्गाको समेत मुआब्जा माग गरेपछि अहिले सम्मानित अदालतमा मुद्दा विभारधीन अवस्थामै छ, त्यसकारण तोकिएअनुसार कार्य प्रगति हासिल हुन सकेको छैन’ ।

चालु आर्थिक वर्षको अन्तिमसम्म सक्ने गरी जे भीसँग सम्झौता गरिएको छ । तर तोकिएको समयमा काम नसकिने श्रेष्ठको भनाइ छ ।

आशिष /सि. एम. जे.भीले साढे तीन ÷साढे तीन किलोमिटर गरी ७ किलोमिटर सडकको ठेक्का लिएको थियो । त्यसका लागि मूल्य अभिवृद्धि करसहित ४१ करोड ६५ लाख ९१ हजार र ४२ करोड ६७ लाख ३० हजार संशोधित लागत अनुमान गरिएको थियो ।

हालसम्म ३३ करोड ९६ लाख २० हजार र ५६ करोड ८७ लाख ३० हजार रुपैयाँ खर्च भइसकेको छ । यसरी हेर्दा पहिलो खण्डको १० प्रतिशत र दोस्रो खण्डको १५ प्रतिशत काम सम्पन्न भएको देखिन्छ ।

सडकको अवस्था जस्ताको त्यस्तै भएपनि आशिष जेभीले दुई खण्डको काममा ९० करोड खर्च गरेको श्रेष्ठले बताए ।

यी कामहरु विगतका दिनमा भएपनि विस्तारको काम कहिलेबाट सुरु हुने भन्ने निश्चित नभएको श्रेष्ठको भनाइ छ ।

अहिलेसम्म के काम भयो ?

भौतिक संरचना हटाउन नसक्दा ठेकेदार कम्पनीले विस्तारको काम गर्न सकेको छैन ।

९० करोड खर्च भइसकेको दाबी गरिएपनि काम भने खासै देखिएको छैन ।

९० करोड खर्च भएको भनिएपनि फिल्डमा त काम देखिएको छैन त भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘सडक विस्तारका लागि कतिपय स्थानमा लागि पर्खाल लगाइएको छ, र मेन्टिनेन्सको काम र ठेकदारलाइ ठेक्का सम्झौता मोबिलाइजेशन गरियो, त्यसकै लागि ९० करोड खर्च भएको हो’ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६