समाचार हेडलाईन न्युज

माओवादीको अभियान किन भयो स्थगित ?

सुनकोसी न्युज
चैत ०७ गते बुधबार, २०८०
काठमाडौं / नेकपा (माओवादी केन्द्र ) काे तराई -मधेस जागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित ) र हिमाल-पहाड- तराई -मधेस राष्ट्रिय एकता अभियान स्थगित भएको छ। चैत ६ गते बसेकाे पार्टी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हाे।

गत फागुन १०, १३, १५ र १६ गते काठमाडौंमा बसेकाे पार्टी स्थायी समितिकाे बैठकले दाेस्राे चरणको पार्टी अभियानको रूपमा २०८० चैत १५ गतेदेखि चैत मसान्तसम्म हुलाकी राजमार्ग केन्द्रित तराई -मधेस जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियोे । त्यसलगत्तै २०८१ साल वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म हिमाल-पहाड-तराई -मधेस राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने निर्णय गरेको थियोे । हाल अभियानको लागि तयारी नपुगेको भन्दै अभियान स्थगित गरेको उक्त पार्टीका महासचिव देव गुरूङले बताउनुभयो

माओवादीले गत भदौ १६ गतेदेखि संचालन गरेको पार्टीको संगठन बिस्तार तथा सुद्धिकरण चार महिने अभियान पुस १६ गते सम्पन्न भएकाे थियोे ।
यसैगरि, यसअघि बसेकाे स्थायी समितिको बैठकले सचिव मातृकाप्रसाद यादवलाई सम्पर्क समन्वय प्रदेशको इन्चार्जकाे जिम्मेवारी ताेकाेकाे थियो भने केन्द्रीय सदस्य महेश्वर दाहाललाई बागमती प्रदेशमा सरुवा गरेको थियोे । साथै, बैठकले महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको पनि गुरूङले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत्र ७, २०८०