मुख्य समाचार साहित्य

“मौनता”

सुनकोसी न्युज
भाद्र २८ बुधबार, २०८०

“मौनता”

आदेशपत्रको
फर्मानहरु सुनिरहेछु !

आफ्नै आँगनमा बसेर
खर्क र चरीचरनमा पनि
बिहानै पढ्ने अखबारको पत्रमा
साँझ हेर्ने टिभिको पर्दामा
तिम्रै न्यायको मन्दिरमा
कर तिर्ने अड्डाहरुमा
सडक र गल्लीभित्र
गाँउ र बस्तीहरुमा
शहरका चोक चोकमा
तिम्रो राजमहलबाट प्रसारित
कर्कस कर्कस लाग्ने
तिम्रा फर्मानहरु
बुझ्न थालेदेखि
आज पर्यन्त
निरन्तर निरन्तर
सुनिरहेछु।

तिमीले घोकेको सिद्धान्त
मार्क्स, लेनिन र माओको नाममा
पुष्पलाल र वीपीको
कम्युनिष्ट र काङ्ग्रेसको नामले
सम्प्रेषित पानाहरुलाई
भद्दा मजाकमा उडाँउदै
सुखीका कुरा
समृद्धिका नारा
समाजवादी चारो
लोकतन्त्रको अलाप
सु-शासनको बिलाप
न्याय र समानताको राग
बाँच्न पाउनुपर्छ भन्ने
तिम्रै मानव अधिकारको गीत
कर्कस कर्कस लागेर पनि
निरन्तर निरन्तर
सुनिरहेछु।

तिमीले सम्झिदो हौ
शान्त छ,
समाज भनेर !
समुन्नत छ,
देश भनेर !
रामराज्यको
शैरकल्पनामा डुब्दै
जालझेल र तिकडम गरेर
ठान्दो हौ,
सत्ता चलेकै छ !
राणा र पञ्चायतले झैं !
त्यसैले त
खोपिभित्रबाट
फर्मान जारी गरिरहे छौ !

तर, खबरदार !
मेरो मौननतालाई
जदौ नसम्झ !!
मेरो धैर्यतालाई
कमजोरी नसम्झ !!

म भित्रको आगो
दन्केपछि
तिम्रो साम्राज्यमा
डढेलो लाग्नेछ !!

मेरो मौनताको बाँध फुटेपछि
तिम्रो साम्राज्य बगाउने छ !!
तिम्रो फर्मानलाई
सदा सदाको लागि
बिदा गर्नेछ !!

इतिहासको डाईनोसर बनेको
राणा र पञ्चायतकाल जस्तै
तिमीलाई पनि
सदा सदाको लागि
बिदा गर्नेछ !!

अनी, विगुल बज्ने छ,
नयाँ बिहानीको
र, रेखा कोर्ने छन्,
सुन्दर शान्त नेपालको !!

– उपेन्द्र तिमिल्सिना
कागेश्वरि मनोहरा नगरपालिका – ५, काठमाडौं

प्रकाशित मिति: बिहिबार, भदौ २८, २०८०