मुख्य समाचार समाचार हेडलाईन न्युज

बादलका ‘अराजक भिड’ र ‘मुकदर्शक सेना’ सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

सुनकोसी न्यूज

वैशाख ३० गते बिहिबार


काठमाडौं, ३० वैशाख । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले संसद्मा प्रयोग गरेका केही अभिव्यक्ति असंसदीय ठहर गर्दै प्रतिनिधिसभाको रेकर्डबाट हटाइएको छ।सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली–२०७९ को नियम २१ को खण्ड ‘घ’ विपरीत पर्ने शब्द प्रयोग भएको भन्दै संसद् सचिवालयलाई ती अभिव्यक्ति अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

सभामुखको रूलिङपछि एमाले प्रमुख सचेतक ऐन महरले कुन शब्द हटाइएको हो भन्ने स्पष्ट पार्न माग गरेका थिए। त्यसपछि सभामुख अर्यालले ‘अराजकहरूको भिड’, ‘राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू’ तथा ‘नेपाली सेना मुकदर्शक’ भन्ने शब्दहरू रेकर्डबाट हटाइएको जानकारी गराए।

मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बादलले रास्वपाको उदय, जेनजी आन्दोलन र नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका थिए। उनले “देश खरानी हुँदा नेपाली सेना किन मूकदर्शक बन्यो ?” भन्ने अभिव्यक्ति दिएका थिए भने राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरूबारे नीति तथा कार्यक्रम मौन रहेको टिप्पणी गरेका थिए।

उनको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले कडा आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। बुधबारको बैठकमा पनि रास्वपा सांसदहरूले उक्त माग दोहोर्याएका थिए।प्रतिनिधिसभा नियमावलीअनुसार संसद्मा अशिष्ट, अपमानजनक, आपत्तिजनक तथा असंसदीय शब्द प्रयोग गर्न पाइँदैन। साथै कुनै व्यक्ति, समुदाय, धर्म, भाषा वा संस्थालाई होच्याउने अभिव्यक्ति दिन नहुने स्पष्ट व्यवस्था गरिएको छ।

प्रकाशित मिति: बुधबार, बैशाख ३०, २०८३

 

 

ताजा अपडेट