सुनकोसी न्यूज
वैशाख ३० गते बिहीबार
काठमाडौं, ३० वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले स्कटल्याण्डसँग २ रनको रोमाञ्चक हार बेहोरेको छ। अन्तिम ओभरमा १३ रन आवश्यक पर्दा नेपाली टोली लक्ष्य भेट्टाउन असफल भएपछि समर्थक फेरि एकपटक निराश बने।
वर्षाका कारण डीएल पद्धतिअनुसार ३९ ओभरमा २२१ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै कमजोर रह्यो। टप अर्डर सस्तैमा समेटिएपछि टोली दबाबमा परेको थियो। कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि दुवै आउट भएपछि नेपाल फेरि संकटमा परेको थियो।
त्यसपछि गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जितको आशा दिलाए। २९ ओभरसम्म ६ विकेट गुमाएर १३७ रन बनाएको नेपाललाई अन्तिम १० ओभरमा ८४ रन आवश्यक थियो। धेरै दर्शकले हार निश्चित ठानेर मैदान छाड्न थालेका बेला गुल्सन र करण केसीले संघर्षपूर्ण साझेदारी गरे।
करण १८ रनमा आउट भएपछि नेपाललाई अन्तिम ५ ओभरमा ५२ रन चाहिएको थियो। त्यसपछि आएका नन्दन यादवले गुल्सनलाई साथ दिए। ३७औं ओभरमा १२ रन र ३८औं ओभरमा १५ रन जोड्दै नेपाल जित नजिक पुगेको थियो।
अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा गुल्सनले पहिलो बलमा २ रन लिए। तर दोस्रो बल डट भयो। त्यसपछि तेस्रो बलमा २ रन लिए पनि चौथो र पाँचौं बलमा रन नआएपछि नेपालको जितको सम्भावना कमजोर बन्यो। अन्तिम बलमा गुल्सनले छक्का प्रहार गरे पनि नेपाल २ रनले पराजित भयो।
गुल्सन झाले ३५ बलमा अविजित ६१ रन बनाए। उनले ५ छक्का र २ चौका प्रहार गर्दै अन्तिमसम्म संघर्ष गरे। नन्दन यादवले १० बलमा ८ रनको साथ दिए।
यो हारले नेपाली समर्थकलाई सन् २०२४ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँगको एक रनको हार सम्झाएको छ। उक्त खेलमा पनि अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन आवश्यक थियो र क्रिजमा गुल्सन नै थिए। अन्तिम क्षणसम्म लडे पनि नेपाल ऐतिहासिक जितबाट वञ्चित भएको थियो।
स्कटल्याण्डविरुद्धको खेलमा पनि गुल्सन अन्तिमसम्म टिके, तर टोलीलाई जित दिलाउन सकेनन्। पछिल्ला महत्वपूर्ण खेलहरूमा अन्तिम ओभरमा चुक्दा नेपाल पटक–पटक ऐतिहासिक जितबाट टाढिँदै आएको छ।
















Add Comment