समाचार हेडलाईन न्युज

प्रधानमन्त्री दाहालबाट मन्त्रीमण्डल बिस्तार, गृहमा नारायणकाजी

सुनकोसी न्युज
चैत्र १७ गते शुक्रबार,२०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री रहेका छन् सत्ता समझदारी दलभित्र सहमति बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।

जसमा कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक/एक मन्त्रालय रिक्त छन् । यसैबीच जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले राजीनामा दिएकाले अन्योल भएको छ ।

नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १७, २०७९