कृषि समाचार हेडलाईन न्युज

विषादी परिक्षण राेक्न निर्देशन दिएको भन्ने समाचार झुटाे भएको मन्त्रालयकाे खण्डन्

सुनकोसी न्युज
फाल्गुन १७, बुधबार, २०७९
काठमाडौं । भारतबाट आयातित तरकारीको विषादी परिक्षण राेक्न मन्त्रीपरिषद्ले  निर्णय गरेको भन्ने समाचार सत्य नभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक संजालमा एक स्टाटस् पाेष्ट गर्दै साे कुरा स्पष्ट पार्नुभएको हाे। भदाैमै उक्त प्रक्रिया अघि बढेकोमा अहिले सरकार परिवर्तन भएपछि स्वत: फिर्ता हुने हुदा त्यसबारे नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिइसकेको उहाँको भनाइ छ।
यसबारे कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचारको खण्डन गरेको छ। मल्लले यस्तो लेख्नुभएको छ :

भ्रममा नपरौ ! नपारौ !!
००००००
फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदले रोकेको भन्ने गलत सामग्री प्रकाशित भएको छ। खास कुरा यो हो- २०७९ भदौ १५ गते मन्त्रालयले क्याबिनेटमा प्रस्ताव पठाएको रहेछ। उक्त प्रस्ताव भदौ १७ गते मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिमा दर्ता भएको रहेछ। भदौ २१ गते समितिले उक्त प्रस्तावको अध्ययन गर्ने निर्णय गरेको रहेछ। तर, उक्त प्रक्रिया अगाडि बढ्न सकेन। २०७९ मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो। त्यसपछि पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुभयो। नयाँ सरकार गठन भएपछि पूरानो सरकारले पेश गरेका र प्रक्रियामा रहेका सबै फाइल स्वत: फिर्ता हुन्छन्। त्यो कुरालाई बंगाएर प्रचार गर्नु सूचना नभएर हो वा प्रक्रिया थाहा नभएको हो वा नियतबस गरिएको हो थाहा भएन । साथै यो विषयमा सम्माननीय प्रधानमन्त्रीले यथाशीघ्र नयाँ प्रस्ताव ल्याउन निर्देशन दिइसक्नुभएको जानकारी गराउछौ!

प्रकाशित मिति: बुधबार, फाल्गुन १७, २०७९