समाचार हेडलाईन न्युज

प्रेस सेन्टरले माघ २ गते श्रद्धाञ्जली सभा गर्ने, ३ दिन शाेक मनाउने, १३ दिनसम्म कुनै फर्मल कार्यक्रम नगर्ने

सुनकोसी न्युज
माघ १ गते आइतबार, २०७९
काठमाडौं । प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पाैडेलकाे आज पाेखरामा भएको प्लेन दुर्घटनामा परि निधन भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पाैडेल सेन्टरको गण्डकी प्रदेश इन्चार्ज समेत थिए । आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरका महासचिव सन्तोष पाैडेलले संगठनले त्रिभुवनको मृत्युुमा तीनदिनसम्म शाेक मनाउने जनाएको छ। यसैगरी १३ दिनसम्म संगठनले कुनै आैपचारिक कार्यक्रम नगर्ने जानकारी दिएको छ।[
शनिबार दिउँसो मात्रै काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठकमा सहभागी हुन पाेखराबाट काठमाडौं आएका पाैडेल आज बिहान १०:३० काे यति एयरलाइन्सको जहाजबाट पाेखरा जादै थिए । आमा, श्रीमती र एक छाेराका पिता रहेका पाैडेल उदयमान युवा नेता तथा स्थापित पत्रकार थिए ।
प्रेस सेन्टर नेपालले जारी गरेको विज्ञप्ति यस्तो छ –

मिति-२०७९ माघ १
शोक वक्तव्य
आज मिति २०७९ माघ १ गते आइतबारका दिन विहान काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको नाइनएन एएनसी एटिआर–७२ जहाज पोखरा अन्तराष्ट्रिय विमानस्थल नजीक अवतरणको प्रक्रियामा अचानक सेतीको खोँचमा दुर्घटना ग्रस्त भई विमानमा सवार हाम्रो संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल, संगठनका पोखरा महानगरपालिका सदस्य अनिल शाही र चालक दलका ४ जनासहित सबै ७२ जना यात्रुको दुःखद निधन भएको खबरले हामी स्तव्ध बनेका छौं ।
सो दुर्घटनामा निधन हुनुभएका पौडेल हाम्रो संगठनका केन्द्रीय उपाध्यक्ष, गण्डकी प्रदेश समन्वय केन्द्रका प्रमूख तथा गण्डकी प्रदेश इन्चार्ज रहनुभएको थियो ।
संगठनका नेताको निधनले प्रेस सेन्टर नेपालको सिंगो परिवार स्तव्ध बनेको छ । उहाँको निधनले प्रेस सेन्टर नेपालमात्र नभई गण्डकी प्रदेश र सिंगो नेपालको जनपक्षीय पत्रकारीताको क्षेत्र र सम्पूर्ण संचार जगतमा अपुरणीय क्षती पुगेको छ । उहाँहरुको निधनले नेपाली पत्रकारिता क्षेत्रले  अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।
२०४१ भदौ ७ गते जन्मनुभएका त्रिभुवन एक असल र कुशल पत्रकार, क्रान्तिकारी युवा हुनुहुन्थ्यो उहाँको श्रीमती, एक छोरा र आमा रहनुभएको छ । सानैदेखि क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भई राजनैतिक प्रेरणा प्राप्त गर्नुभएका उहाँ समाजसेवाका क्षेत्रमा पनि स्थापित युवा व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित उपलव्ध पदाधिकारी बैठकमा सहभागि भई आइतबार पोखरा फर्कनुभएको थियो । उहाँ पोखराबाट प्रकाशीत हुने हटलाइन दैनिक पत्रिकाको सम्पादक, प्रकाशक रहनुभएको थियो । उहाँ पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने अन्य विभिन्न मिडियाहरुमा आवद्ध हुनुहुन्थ्यो । साथै उहाँले पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस विज्ञको रुपमा पनि काम गर्नुभएको थियो । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने संगठनका उपाध्यक्ष त्रिभुवन पौडेल महानगरपालिका सदस्य अनिल शाही सहित सबै दिवंगत महानुभावहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा शोकको घडिमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
उहाँको निधनपश्चात बसेको केन्द्रीय कार्यलयको आकस्मिक बैठकले माघ २ गते केन्द्रीय कार्यलय सहित देशभरका सबै कार्यलयहरुमा श्रद्धान्जली कार्यक्रम गर्ने र शोक पुस्तिका राखेर श्रद्धान्जली व्यक्त गर्ने तथा ३ दिन श्रद्धान्जलीबाहेकका अन्य गतिविधि नगर्ने र १३ दिनसम्म आफ्रना कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।

सन्तोष पौडेल
महासचिव  tribhuwan sok bigyapti magh1

प्रकाशित मिति: आइतवार, माघ १, २०७९