प्रदेश समाचार हेडलाईन न्युज

सत्ता गठबन्धनले टुंग्यायाे सातै प्रदेशमा मुख्यमन्त्री र सभामुखकाे भागबन्डा

सुनकोसी न्युज
पुस २५ गते साेमबार, २०७९
काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएका छन् । आइतबार साँझ बालुवाटारमा बसेकाे बैठकबाट७ वटै प्रदेशमा सरकार गठनको  बाँडफाँट टुंगिएको हो ।

प्रदेश १ मा एमालेका हिक्मत कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् । बैठकमा  गण्डकी र लुम्बिनीमा पनि  एमालेले सरकार बनाउने निर्णय भएको छ भने वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।

सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख उपसभामुखको पनि भागबण्डा भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुंगो लगाएको हो ।

जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ ।  बालुवाटार स्रोतका अनुसार एमालेले मधेश र कर्णाली प्रदेशमा सभामुख एमालेले लिने सहमति भएको छ भने माओवादी केन्द्रले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउने भएको छ ।

त्यसैगरी बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा पर्दा प्रदेश १ र गण्डकीको उपसभामुख एमालेको भागमा परेको छ । माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउँदा लुम्बिनीको उपसभामुख राप्रपाले पाएको छ ।

मधेश प्रदेशको उपसभामुख जनमत पार्टीले लिने र सुदूरपश्चिम प्रदेशको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई लिने गरी सहमति भएको छ ।  सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै सभामुख उपसभामुखको पनि सहमति भएको हो ।

प्रकाशित मिति: सोमवार, पुस २५, २०७९