समाचार हेडलाईन न्युज

प्रत्यक्ष तर्फ कुन पार्टीले कति सिट जित्यो ?

सुनकोसी न्युज
मंसिर ११ गते आइतबार, २०७९
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा माओवादीले प्रत्यक्ष तर्फ १७ सिट जितेको छ भने प्रदेश सभाको प्रत्यक्ष तर्फ अहिलेसम्म ५३ सिटमा जित हासिल गरेको छ। यसअघि २०७४ सालको चुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ३६ र प्रदेशको प्रत्यक्ष तर्फ ७३ सिट जितेकाे थियोे । त्यो बेला बामपंथी गठबन्धन थियोे भने अहिले लाेकतान्त्रिक बाम गठबन्धन रहेको छ। यो चुनावमा लाेकतान्त्रिक बाम गठबन्धन नेपाली कांग्रेसलाई फाइदा र माओवादीलाई बेफाइदा भएको देखिन्छ । माओवादीका महासचिव देवीप्रसाद गुरुङ, तिनजना उपमहासचिवहरू पम्फा भुषाल, गिरिराजमणि पाेखरेल र मातृकाप्रसाद यादवले हार व्यहोर्नुपरेको छ। उनीहरूलाई कांग्रेसले मत नहालेकाे उनीहरूको गुनासो छ। त्यसैगरी यसअघि चुनाव जितेका माओवादीका धेरै हस्तीहरूले चुनाव हारेका छन् । सिराहाबाट विश्वनाथ साह, काठमाडौंमा ओनसरी घर्ती, अञ्जना बिसुङ्खे, कल्पना धमला, कञ्चनपुरकी बिना मगर, बाकेका बहालवाला मन्त्री महेश्वर गहतराज,बाराका शिवचन्द्र कुसवाहा, माेरङका शिवकुमार मण्डल, सिराहाका उमेश यादव, सर्लाहीका नगेन्द्र साहलगायतले यो चुनावमा हार व्यहोर्नुपरेको छ। गठबन्धनमा जम्मा ४४ सिटमा लडेको माओवादीले त्यसै पनि  कम सिट लिएको र यसअघि जितेका पार्टीका उपल्लो कमिटीका नेताले समेत हार्नुकाे कारण बारे गम्भीर समिक्षा हुने एक पदाधिकारीले सुनकोसी न्युजलाई बताए ।

गठबन्धनको अर्को घटक नेपाली कांग्रेसले ५३ सिट जितेको छ । अघिल्लो चुनावमा बाम गठबन्धनको पेलाईमा परेर २३ सिटमा खुम्चेकाे कांग्रेस माओवादीसँगकाे सहकार्यबाट एक नम्बरमा पुग्ने अवस्थामा रहेको छ। गठबन्धनका कारण कांग्रेसले नुवाकोट, माेरङ-६, तनहुँ, काठमाडौं, भक्तपुर, गुल्मी, धादिङ, लगायत दर्जनौं जित्न नसक्ने स्थानमा जित हासिल गरेको छ। गृहमन्त्री बालकृष्ण खाँण, कृष्ण सिटौला, सुजाता काेइराला, उमेश श्रेष्ठ, डिना उपाध्याय, बिजयकुमार गच्छदार लगायतले हारेका छन् । प्रदेश तर्फ २०७४ मा ४१ सिट जितेको कांग्रेसले यसपटक अहिलेसम्म १०२ सिट जितिसकेकाे छ।

प्रतिनिधि सभामा यसअघि ८० सिट जितेको नेकपा एमालेले यसपटक  ४२ सिट जितेको छ। एमालेका महासचिव शंकर पाेखरेल, बरिस्ठ उपाध्यक्ष इश्वर पाेखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, अग्नि खरेल, महेश बस्नेत, कृष्ण राई, दुई जना पूर्व igp हरू लगायतले हारेका छन् । प्रदेश तर्फ यसअघि १६८ सिट ल्याएको एमाले यसपटक ८३ सिटको लागि संघर्षरत छ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले १० सिट प्राप्त गरेको छ भने समानुपातिकमा थ्रेस हाेल्ड कटाउन संघर्षरत छ। राप्रपा र घण्टीले ७-७ सिट जितेका छन् । जसपाले ६ र लाेसपाले ४ सिट जितेका छन् भने रेशम चाैधरीकाे ढाकीले उनकी श्रीमती र बुवासमेत तीन सिटमा बाजि मारेका छन् । स्वतन्त्रताको ५ सिट छ भने नेमकिपा, राजमाे र      ले १-१ सिट जितेका छन् । समानुपातिक तर्फकाे मतगणना जारी छ।

प्रकाशित मिति: आइतवार, मंसिर ११, २०७९