समाचार हेडलाईन न्युज

काठमाडौं -३ मा माओवादी युवा नेता फुयाल सर्वसम्मत सिफारिस, प्रदेशमा लामा र नेपाल

सुनकोसी न्युज
भदौ २३ बिहीबार २०७९
काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं निर्वाचन क्षेत्र-३ बाट नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्य महेश्वर फुयाँल सिफारिस भएका छन्। शुक्रबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले फुयाँलको नाम सर्वसहमतिमा सिफारिस गरेको हाे। उनी त्यो क्षेत्रमा स्थापित युवा नेता हुन्।

काठमाडौं जिल्लाको सचिवालय बैठकले उक्त सिफारिस जस्ताकोतस्तै प्रदेशलाई बुझाएको जिल्ला संयाेजक उमेश स्थापितले बताए ।

काठमाडौं क्षेत्र नम्बर ३ काे (क) प्रदेशको लागि बाैद्धका बासिन्दा निरज लामा र (ख) प्रदेशको लागि जाेरपाटिका टिआर नेपाल सिफारिस भएका छन् ।

स्वतन्त्र रुपमा युवाहरू चुनावमा सहभागी हुने ट्रेण्ड चलिरहेका बेला माओवादी केन्द्रले फुयाँललाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ। मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि उनको नाम सिफारिस भएसँगै यस क्षेत्रका युवाहरू उत्साहित छन्। युवा नेता फुयाँलले नागरिकको चाहना अनुरूप आफ्नो नाम सिफारिस भएको प्रतिक्रिया दिए। उनले युवा नेताहरूलाई विश्वास गरेर अवसर दिँदा नागरिकको विश्वास जित्न सकिन्छ भन्ने मान्यता स्थापित हुने पनि बताए।

‘पछिल्लो समय युवा नेतृत्व चाहिन्छ भन्ने आवाज उठेका छन्। पुराना उम्मेदवारले युवाको चाहना बुझ्न सकेनन् भन्ने गुनासा छन्। पार्टीले सर्वसहमतिमा मेरो नामा सिफारिस गरेको छ,’ उनले भने, ‘यदि हामी गठबन्धनभित्र एकमत हुन सक्यौ र गठबन्धनका सहयात्री दलहरूका साथीहरूबिच विश्वासको वातावरण बने यहाँ चुनाव जित्न सक्छौं। युवाहरूको मनोविज्ञानको प्रतिनिधित्व गर्न सक्ने पात्र महेश्वर फुयाँल हो भन्ने वातावरण तय हुन्छ। चुनाव जित्न गाह्रो छैन।’

फुयाँलले प्रतिस्पर्धी दल नेकपा एमालेले पुरानै उम्मेदवारलाई उठाउने तयारी गरेको र युवा उम्मेदवार जनचाहना भएकाले पनि यहाँ आफ्नो जित सुनिश्चित हुनसक्ने विश्वास व्यक्त गरे।

कस्तो छ जनाधार ?

२०७४ को निर्वाचनमा काठमाडौं-३ बाट वाम गठबन्धनका उम्मेदवार (नेकपा एमालेका) कृष्णबहादुर राई विजयी भएका थिए। उनले १९ हजार १६९ मत प्राप्त गरेका थिए। राईका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरेकी थिइन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम अनुसार यहाँ नेपाली काँग्रेस ठूलो दल हो।

काँग्रेस १५ हजार ७९५ मत प्राप्त गरेको थियो। त्यस्तै, एमाले १४ हजार ८७६, नेकपा माओवादी केन्द्र ४ हजार ३१ मत प्राप्त गरेको छ। स्थानीय तहको निर्वाचनमा यहाँ स्थानीय आवश्यकता अनुसार गठबन्धन भएको थियो। वडामा पनि फरक फरक दलहरूबीच चुनावी सहकार्य भएको थियो। उक्त मत परिणाम दलका वडाध्यक्षले प्राप्त गरेको र जहाँ वडाध्यक्ष छैन त्यहाँ वडा सदस्यहरूले प्राप्त गरेको मत हो। स्थानीय तहमा प्राप्त मत परिणाम अनुसार यहाँ गठबन्धन विजयी निश्चित जस्तै छ।

को हुन् फुयाँल ?

महेश्वर फुयाँल माओवादी केन्द्रका युवा नेता हुन्। उनी पूर्णकालीन पार्टीको गतिविधिमा सक्रिय छन्। जिम्मेवारीको हिसाबले उनी हाल नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्य हुन्।

फुयाँल २०५६ सालदेखि अखिल क्रान्तिकारीमा आबद्धता हुँदै माओवादी आन्दोलनमा जोडिएका हुन्। माओवादी आन्दोलनको क्रममा उनले २०५९ र ०६१ सालमा गरी साढे दुई वर्ष जेल जीवन बिताएका थियो। २०५७ सालदेखि उनी पूर्णकालीन सदस्य भएर पार्टीको गतिविधिमा सक्रिय रहँदै आएका छन्। हाल उनी माओवादी केन्द्रको काठमाडौं-३ का इन्चार्ज हुन्।

प्रकाशित मिति: बिहिबार, भदौ २३, २०७९