समाचार हेडलाईन न्युज

काठमाडौं -४ मा माओवादीबाट जनयुद्धका घाइते लामासँगै काे काे भए उम्मेदवार सिफारिस

भदौ २२ गते बुधबार २०७९
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाकाे चुनावको लागि माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ले उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा संघको प्रत्येक्ष तर्फ पार्टीका बागमती प्रदेश सचिवालय सदस्य, क्षेत्र नं. ४ का पार्टी इन्चार्ज तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष बिदुर खड्कालाई क्षेत्रीय कमिटि र जिल्ला कमिटिकाे बैठकले निर्णयले उम्मेदवार सिफारिस गरेको छ। खड्कासँगै बुढानिलकण्ठ नगर कमिटिका इन्चार्ज तथा प्रदेश सदस्य अमर बिकलाई पनि  सिफारिस गरेको छ। भरखरै माओवादी पार्टीमा समाहित भइ बैकल्पिक केन्द्रीय सदस्य बनेका ओखलढुंगाका कुमार बाेगटिलाई पनि उम्मेदवार सिफारिस गरेको क्षेत्रीय संयाेजक सुरेश कर्मचार्यले बताए ।

माओवादी जनयुद्धको सुरुवाती समयमै माओवादी आन्दोलनमा सानै उमेरमा सहभागी बनेका खड्का शान्तिप्रक्रियासँगै काठमाडौं कपनमा बसाेबास गर्छन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका, कानुन र अंग्रेजीमा स्नातक गरेका उनलेे पत्रकारितालाई पेसा बनाएका छन् । आफ्नो जीवनको सबै समय पार्टी र आन्दोलनमा बिताएका खड्का अविचलित पार्टीले दिएका सबै जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने कमै नेताहरू मध्ये पर्दछन्। जनयुद्धकालमा करिब ४ वर्ष जेल र दर्जनौं पटक हिरासत बसेका छन् । जेल र हिरासतमा ६ पटक गरेर ६४ दिनसम्म आमरण अनसन बसेर सरकारलाई कायल पारेका छन् । विद्यार्थी राजनीतिबाट सुरु गरेका उनलेे विभिन्न भूमिका निर्वाह गरेका छन् । २०६० सालमा जनमुक्ति सेनाको stf कमिसार समेत भएर काम गरेको अनुभव छ। पार्टीले बनाएको पहिलो राज्य समितिका सदस्य रहेका खड्का पार्टीको पाेलिटव्यूराे सदस्य समेत बनेका छन् । कुनै पनि समस्याको ठिक, सर्वमान्य र तुरुन्त समाधान दिनसक्ने विशिष्ट क्षमताका धनी खड्कालाई पार्टीले उम्मेदवार बनाए काठमाडौं क्षेत्र नं.४ मात्रै नभएर काठमाडौंको नयाँ ढंगबाट शहरीकरण र विकासमा क्रान्तिकारी समृद्धि आउनसक्ने स्थानीयकाे भनाइ छ। दुई कार्यकाल कांग्रेसका महामन्त्री समेत रहेका गगन थापाले यस क्षेत्रमा जिते पनि क्षेत्र र जिल्लाको विकासका लागि माख्खाे नमारेपछि मतदाता थापासँग क्रुद्ध बनेका छन् । यसपटक जनताले थापाको बिकल्पमा खड्कालाई ल्याउन चाहेको स्थानीय बुद्धिजीवी माधव आचार्य बताउछन् । एमालेका राजन भट्टराई यो क्षेत्रमा निरन्तर चुनाव लडे पनि अघिपछि देखानपर्ने र केही काम नगर्ने भएकोले उनलाई लगभग प्रवेश निशेध जस्तै अवस्थामा रहेको एमालेकै नेताहरू बताउछन् । गठबन्धन हँदा पनि गगन अन्यत्रबाट उठेर माओवादीलाई ४ नम्बर क्षेत्र छाडेको खण्डमा खड्काको जितमा जनता एकीकृत हुनसक्ने स्थानीय बताउछन् ।

त्यसैगरी, जनयुद्धमा जनमुक्ति सेनाको फर्मेसनमा लामो समय काम गरेका अमर बिक खासगरी हातहतियार सम्बन्धि राम्रो ज्ञान भएका मानिस हुन्। जनमुक्ति सेनाको हतियार मर्मत तथा निर्माणका काममा इमानदारीपूर्वक काम गरेका बिक पछिल्लो समय पार्टी संगठनमा कुशलतमपूर्वक काम गरिरहेका छन् । सापेक्षित रुपमा इमानदार र स्वच्छ छवि भएका बिक यस क्षेत्रमा टिकटको बलिया दाबेदार हुन्।

भरखरै पार्टी एकताबाट आएका युवा नेता कुमार बाेगटीले पनि आफूलाई यश क्षेत्रमा गगनकाे बिरुद्ध बलियो र उपयुक्त बिकल्पकाे रूपमा दाबी गरेका छन् । ८/९ वर्षपहिला माओवादीमै काम गरेका बाेगटी क्रान्तिकारी माओवादीबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जुझारु र सिर्जनशील उर्जा सहितका युवा उम्मेदवार कुमार अहिले चलिरहेको ट्रेण्ड अनुसार गगनकाे विकल्प उम्मेदवार हुन याेग्य रहेको मानिन्छन् ।

त्यसैगरी संघको समानुपातिकमा जनयुद्धका घाइते तथा काठमाडौंका पुराना सिनियर वामपन्थी नेता गंगाबहादुर लामा, कालिकोट घर भइ हाल भंगाल बस्ने पार्टी निर्वाचन विभागका सदस्य गाेबिन्द बहादुर बटाला, प्रदेश सदस्य तथा ४ नं क्षेत्रीय संयाेजक सुरेश कर्मचार्य र प्रदेश परिषद् सदस्य तथा उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य नवराज न्याैपानेकाे नाम क्षेत्रीय कमिटीको बैठकले जिल्लामा सिफारिस गरेको छ। क्षेत्रले सिफारिस गरेका यी सबै नामहरू जिल्लाको बैठकबाट समेत अनुमाेदन भइ बागमती प्रदेशलाई बुझाइसकेको जिल्ला संयाेजक उमेश स्थापितले जानकारी दिए।
त्यसैगरी (क) प्रदेशमा प्रत्येक्ष तर्फ पार्टीका प्रदेश सदस्य तथा (क) प्रदेश इन्चार्ज  रविन गुरुङ, प्रदेश सदस्य विजयदेव भट्टराई र रामेश्वर केसीलाई सिफारिस गरेको छ। भट्टराईलाई बाल्यकालमै २०६० सालको वार्तापछि सेनाले गिरफ्तार गरि लामाे समय बेपत्ता बनाएकाे थियो । भैरपनाथ गणमा चरम यातना खाएर पनि जिवितै मुक्त हुने भाग्यमानी मध्ये उनी एक हुन्। त्यसैगरी भैरवनाथ गणमै नाै महिना यातना खाएर रिहाइ हुनेमध्ये रामेश्वर पनि हुन्। उनी चलचित्र कलाकार संघको उपाध्यक्ष हुन्। पार्टीको जिल्ला समन्वय समिति सदस्य रहेका केसी पार्टीभन्दा बढी सामाजिक कार्यमा व्यस्त रहन्छन् । उनी ॐसमाज डेन्टल अस्पतालका उपाध्यक्ष पनि हुन्। टिकट पाएकाे खण्डमा उनको जित पक्का रहेको उनको भनाइ छ।
समानुपातिक तर्फ भने राधा भट्टराई र विनोद शाही सिफारिस भएका छन् । भट्टराई वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरकि बुहारी हुन् भने शाही पशुपति क्षेत्रका स्थानीय रैथाने हुन्।
प्रदेश (ख) मा प्रत्येक्षमा माधव आचार्य, राज प्याकुरेल र पुरुषाेत्तम काेइरालाकाे नाम सिफारिस भएको छ। आचार्य बुद्धिजीवी अध्यक्ष तथा पुराना वामपन्थी नेता हुन्। राज ycl का केन्द्रीय सदस्य तथा नगर कमिटिका कार्यालय सदस्य हुन्। काेइराला ८ नम्बर वडापार्टी अध्यक्ष हुन्।
समानुपातिक तर्फ चुनिखेलका स्थानीय राजेन्द्र श्रेष्ठ, सुवास राई र हेमा अधिकारी सिफारिस भएका छन् । श्रेष्ठ पार्टीका बागमती प्रदेश परिषद् सदस्य तथा (ख) प्रदेश कमिटिका इन्चार्ज हुन्। उनी स्थापित स्थानीय नेवार नेता हुन्। राई यस क्षेत्रका पुराना नेता हुन्। सुकुम्बासी बस्तीमा घर भएका राई अखिल  नेपाल सुकुम्बासी संगठनका केन्द्रीय सचिव हुन्। उनी बुढानिलकण्ठ नगर कमिटि उपाध्यक्ष हुन् । उनी ट्रेकिङ व्यवसायी पनि हुन्। अधिकारी नगर कमिटि काेषाध्यक्ष हुन्। २०७३ काे स्थानीय चुनावमा उपमेयरकाे उम्मेदवार रहेकी अधिकारीका पति डम्बर अधिकारी यसपटकको स्थानीय चुनावमा मेयरकाे उम्मेदवार थिए भने छाेरा विवेक अधिकारी १० नं वडा सदस्य उम्मेदवार थिए। परिवारै राजनीतिमा लागेर संघर्षशिल परिवारकाे उदाहरण दिदै अधिकारीले यसपटक पनि उम्मेदवारी दिएकी छन् र पार्टीले उनलाई समानुपातिक उम्मेदवार सिफारिस गरेको छ।

प्रकाशित मिति: बिहिबार, भदौ २३, २०७९