समाचार हेडलाईन न्युज

माओवादीले पदाधिकारी टुंग्यायाे, गुरुङ बने महासचिव

सुनकोसी न्युज
भाद्र ४ गते शनिबार २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय पदाधिकारी टुंग्याएकाे छ।  पार्टीको महाधिवेशन सकेको २३० दिनपछि बल्ल पदाधिकारी टुंग्गो लगाएको हाे। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो, बैठकमा सहभागी एक नेताले बताए । आधिकारिक घाेषणा हुन बाँकी छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए । बैठकले त्यसलाई अनुमोदन गरेपछि माओवादीले पदाधिकारी पाएको हो । माओवादीको आठौं महाधिवेशन गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको थियो ।

शनिबार सम्पन्न स्थायी समितिले पार्टीको महासचिवमा देव गुरुङलाई निर्णय गरेको छ । महासचिवका लागि वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ बीच तीव्र प्रतिस्पर्धा भएपछि प्रचण्डले मध्यमार्गी प्रस्तावका रुपमा देव गुरुङलाई महासचिवमा अगाडि सारेका हुन् ।

माओवादीले २१ जना पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ ।

महासचिवमा देव गुरुङ चयन भएपछि महासचिवका आकांक्षी नेताहरु उपमहासचिवमा समेटिएका छन् ।

माओवादी केन्द्रका पदाधिकारीको सूची यसप्रकार छ

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : हरिबोल गजुरेल, वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव ।

सचिव :  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९