कर्णाली मुख्य समाचार विज्ञान

कर्णालीमा फाेन र इन्टरनेट प्रभावकारी बनाउन  प्राधिकरण सक्रिय

सुनकोसी न्युज
असार १६ गते,  बिहीबार , २०७९
सुर्खेत  । नेपाल दूरसञ्चार प्राधिकरणले सरोकारवालाहरुसंग  मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सम्बन्धी छलफल कार्यक्रममा शुरू गरेको छ ।
यसै क्रममा वुधवार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा कर्णालीको राजधानी सुर्खेतमा नै फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएकाछन्।
सुर्खेतमा नै इन्टरनेट सेवा र फोन सेवा भरपर्दो छैन,’ उनले प्रश्न गरे, ‘कर्णाली विकट क्षेत्रमा अवस्था कस्तो होला ?’
कर्णालीका हिमाली र दुर्गम क्षेत्रमा अहिले पनि फोन सुविधा नपुगेको शाहीले बताए । ‘कर्णालीका हिमाली तथा दुर्गम क्षेत्रमा फोन सेवा छैन । इन्टरनेट सेवाको कुरा छाडौँ,’ उनले भने, ‘यसमा सरोकारवाला निकाय सबैको ध्यान जान आवश्यक छ ।’
डिजिटल कर्णाली’को नारा खाद्यान्न उत्पादन नहुने क्षेत्रमा ‘अर्गानिक खेती’ घोषणा गरिएजस्तै भएको उनकाे भनाइ छ । ‘हामीले कर्णाली प्रदेशमा अर्गानिक कर्णाली प्रदेश भन्छौँ । तर, हामीकहाँ खाद्यान्नमा आत्मनिर्भर भएका छैनौँ ।’ उनले भने, ‘डिजिटल प्रदेश घोषणा गरेका छौँ तर हाम्रो प्रदेशमा कतिपय ठाउँमा फोन सेवा र इन्टरनेट सेवा नै छैन ।’
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले दूरसञ्चार  क्षेत्रका सेवा प्रदायक संस्थाहरूले दुर्गम तथा पहाडी क्षेत्रमा सञ्चार सेवा प्रभावकारी ढंगले दिनुपर्ने बताए ।
कर्णाली प्रदेशमा सञ्चार क्षेत्रको प्रभावकारी विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेरअघि बढ्न पनि उनले सेवा प्रदायक संस्थाहरूसँग आग्रह गरे ।
त्यस्तै कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका उप- निर्देशक दिनेश मैनलीले ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरेर कर्णाली प्रदेशका केही जिल्लाहरुमा अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट सेवा र फोन सेवालाई प्रभावकारी बनाउने काम थालनी भएको बताए ।
नेपाल टेलिकमको कर्णाली प्रदेश प्रार्देशिक कार्यदलका निमित्त प्रमुख शिवराज खनालले गुणस्तरिय सेवा दिन खोजिएको तर सुर्खेतमा विद्युतमा हुने समस्याका कारण कहिलेकाहीँ भनेजस्तो नभएको हुनसक्ने बताए ।
त्यस्तै इन्टरनेट सेवा प्रदायक संघ नेपालको तर्फबाट बोल्दै खगेन्द्र शाहीले इन्टरनेट सेवामा यदाकदा देखिने समस्याको निराकरण गर्न आफूहरु लगिरहेयको उल्लेख गरे ।
उपभोक्ता हकहित संंरक्षण मञ्चका कर्णाली प्रदेश अध्यक्ष बिन्दुलाल रेग्मीले शुल्क लिने, तर सेवा नदिने गर्दा उपभोक्ता मारमा परिरहेको बताए । ‘जुन आधारमा सेवा शुल्क लिइएको छ, त्यही आधारमा फोन सेवा र इन्टरनेट प्रदायकले सुविधा दिएका छैनन्,’ उनले भने ।
हिमालयन ग्रिन कर्पोरेसन प्रालिका प्रमुख शम्भु पहाडीले इन्टरनेट र फोन सेवालाई प्रभावकारी बनाउन नियमित रूपमा दूरसञ्चार प्राधिकरणले उपभोक्ता र सेवा प्रादायकबीच अन्तर्क्रिया गर्नुपर्ने धारणा राखे । ‘सेवाप्रदायक र उपभोक्ताबीच निरन्तर अन्तर्क्रिया र छलफलको आवश्यकता छ,’ पहाडीले भने, इन्टरनेट र फोन सेवा प्रभावकारी बनाउन दुवै पक्षबीच उत्तिकै सम्बन्ध आवश्यक हुन्छ ।’

प्रकाशित मिति: बिहिबार, असार १६, २०७९