अन्तर्वार्ता/विचार हेडलाईन न्युज

स्वतन्त्र ट्रेन्ड : राजनीति बिग्रिदाकाे साइड इफेक्ट

बिदुर खड्का
सुनकोसी न्युज
असार ७ गते, २०७९ मंगलबार ।
काठमाडौं । विधागत कामबाट चर्चा र अपारदर्शी कमाइबाट केही करोड  कमाएपछि राजनीति मार्फत अवसान राेज्ने नयाँ  ट्रेन्ड जन्मिएको छ, अहिले नेपालमा। रवीन्द्र मिश्र, किशोर थापा, रमेश खरेल लगायतको उदाहरण हेराैं। उहिले राजा बन्न तिघ्रा पाखुरा दराे चाहिन्थ्याे, अहिले सांसद र शासक बन्न जिब्रो र खल्ती दराे भए पुग्यो । संघर्ष र संगठन तपशिलका विषय बने। हर्क र बालेन त्यसको राेल माेडल बने।

लामाे संघर्षको इतिहास बाेकेका, परिवर्तनको नेतृत्व गरेका, लाखाैं संगठित सदस्य र बलियो संगठन भएको, खारिएका नेताले नेतृत्व गरेको पार्टी अन्तर्दलीय अव्यवस्था, अन्तर्ध्वंश, सिद्धान्तच्युत, पदलाेलुप, आर्थिक अपचलन र मतिभ्रष्ट भएपछि  जनतामा दलहरू देश र जनताको लागि हाेइन रहेछन्, आफ्नै स्वार्थ र कुण्ठातृप्तीकाे लागि सारा भाषण, संघर्ष र वलिदानकाे नाटक गर्दारहेछन्, भन्ने गहिरोसँग भ्रम परेको छ। नेपालमा अहिले शक्तिमा रहेका सबै दल कुनै न कुनै अग्रगामी राजनीतिक परिवर्तनको नेतृत्व गरेर आएका दलहरू छन् । तर सत्तामा पुगेर आफैंले ल्याएको परिवर्तनको भावनाअनुरूप कसैले पनि काम गर्न सकेनन् । राम्रो गर्न नसकेपछि नराम्रो नगरेको भए हुन्थ्यो तर गर्न नहुने पनि गरे। यसले नियतै खराब थियोे कि भन्ने भ्रम पर्याे, जुन स्वभाविक छ। जनताले परिवर्तनको नेतृत्व गरेका सबै दललाई दिलाेज्यानले साथ दिदै आएका छन् । उनीहरूबाट त्यसैले पनि अलि बढी जनअपेक्षा रहनु स्वभाविक छ। तर सत्ताको सेरोफेरोमा सबै नेता चिप्लिए, जनता चिढ्याए। जसको फाइदा राजेन्द्र लिङ्लेन, रवीन्द्र मिश्र, रवि लामिछाने, किशोर थापा, सिके राउत, रमेश खरेल, हर्क र बालेनहरूले लिने काेसिस गर्दछन्। दलका हजारौं मान्छे समाज परिवर्तनसहित समग्र मानव समृद्धिकाे लागि पूरै जीवन उत्कट वलिदानपूर्ण भावनाका साथ राजनीतिमा लाग्छन्, सत्तामा पुगेर सजिलै पतन हुन्छन् । परै बसेर रमिता हेर्नेहरू दलको गल्ती कुरेर समातेर त्यसमाथि ठाेक्दै टेक्दै फुटबलमा समय सकिन ५ मिनेट बाँकी रहँदा मैदान छिरेको खेलाडीले जस्तो अलिबढी नै चुरिफुरीसाथ प्रस्तुत हुनेगर्छन्। दलप्रतिकाे जनताको एन्टी सेन्टीमेन्टलाई जति चर्काउन सक्यो, ऐजेरू झैं पलाएका यस्ता व्यक्ति र दलको दुकान त्यति नै फस्टाउने हाे। तर एकादुई हारबाटै बिचलित भएर सक्किनु यस्ताहरूकाे नियति हाे। मिश्र, थापा, दर्शना आदिकाे अवसान समाजले देखेकै छ।अरु केही  पलायनको लाइनमा खडा छन् ।

तर संगठित र जिम्मेवार दललाई यसरी बिचलित हुने छुट हुदैन । बिग्रेर, हारेर, सिद्धिएर पनि सुधारिनु पर्ने बाध्यता हुन्छ, बाैरियर जिम्मेवारी काँधमा लिनुपर्ने हुन्छ । जनताप्रति जसरी पनि जवाफदेही हुनैपर्छ, भाग्ने त छुट हुदै हुदैन । इतिहास, बलिदान र संघर्षको धरातलमा टेकेर हजारौं नयाँ पुस्ताले यसको नयाँ कार्यभार नेतृत्व लिएर अघि बढाउछन् ।

यसको मतलब नयाँ दलकाे जन्म र विकासकाे बन्ध्याकरण गर्ने भनेको हाेइन। तर नयाँ भन्ने वस्तु यतिकै बतासे पैदा हुदैन ।  हरेक नयाँ वस्तु पुरानोकै जगमा जन्मिएको हुन्छ। जन्मिनकाे लागि आधार चाहिन्छ, उदेश्य चाहिन्छ । गालिगलाेज र असन्तुष्टिबाट मात्रै जन्मेको नेतृत्वले उन्नत विकल्प दिन सक्दैन ।

बाहिरबाट हेरिए भनिए जस्तो राजनीति सजिलो र कमाउनकाे लागि वा शासन गर्नकाे लागि वा नातागोताकाे लागि वा नराम्रो गर्नकाे लागि मात्रै गरिएको हुदैन । यसमा लागेर टिकेर अघि बढ्न जीवन मरणकाे संघर्षबाट गुज्रिनु पर्छ। जसले मानिसलाई हरेक समस्याको सामना गर्ने बल प्राप्त हुन्छ। जस्केलाबाट राजनीतिमा अनटाइम्ली इन्ट्री मार्नेलाई न यो कुरा थाह हुन्छ, न बुझ्छन्, न त्यसकाे रापिलाे आगाे सहन सक्ने स्टामिना हुन्छ । एकदुई असफलताले उनीहरूलाई चिल्लिबिल्लि पारिदिन्छ। रविहरू, मिश्रहरूकाे इन्ट्री जति भव्य र हाहाहुहुपूर्ण हुनेगर्छ,  अवसान पनि उत्तिकै दु:खदायी हुनेगर्छ । दलकै कतिपय नेताहरूमा पनि व्यक्तिगत पपुलारिटि अलि बढेपछि सके दल कब्जा गर्ने नसके अलग्गै उधुम गर्ने ग्रन्थीरस पलाउछ। माओवादीका सागर थापा, विप्लव, बाबुराम लगायतलाई त्यो राेग लागेको छ, थियो । अहिले त्यो संक्रमण दलबाहिर अलि बढी देखिन्छ ।

राजनीतिमा असंगठित भिड वा व्यक्तिको प्रवेशले क्षणिक तरंग ल्याउछ, केही नयाँ बहस पनि दिन्छ। तर वालेनलाई हेराैं, त्यो लामाे समय रहन सक्दैन । उनलाई मतदाताले जुन अपेक्षासाथ जिताए, त्यो अनुसार उनलेे काम गर्न नसक्ने स्पष्ट देखिसकियाे। उनीसँग कुनै नयाँ भिजन वा आइडिया नै छैन, न दमदार परफरमेन्स् नै छ। तदर्थवादमा काम गर्ने शैली र केटाकेटी उत्तेजनाले काम बनाउदैन, बिगार्छ। रविहरू यदि बालेनबाट प्रेरित हुन् भने राजनीतिमा उनको पतन रवीन्द्र मिश्रकाे भन्दा चाँडो हुनेछ । किनकि उनी व्यक्तिगत जीवनमा मिश्रजति पनि सफा छैनन् । राजनीतिमा छिरेपछि त्यस्ता विषयले अलि बढी नै डिस्टर्व गर्छन् । अरु गायक, कलाकार र इन्जिनियर भाइ बहिनीले यतिसाराे राजनीतिमा रहर गर्नु, उम्मेदवारी घाेषणाकाे बाढी आउनु त राजनीतिकाे दुनियाँमा क्रान्ति नै हाे । तर सबैलाई हर्क र बालेनकाे विरासत थेग्ने अवसर नआउनसक्छ। स्वतन्त्र हुनु पनि समाजकाे लागि हाे, समाज एक्लाेले मात्रै थेगिने हाेइन । व्यक्तिहरू सचेतपूर्ण साझा उदेश्यका लागि साझा लक्ष्यमा योजनाबद्ध संगठित भएर लाग्दा असंगठित भिड वा व्यक्तिले भन्दा बढी परिणाममुखी काम गर्न सक्छन्, ठूला ठूला काम गर्न सक्छन्। इतिहासमा लेखिएका वीरपुरूषहरू कसैले पनि एक्लै कुनै पनि विरासत जितेका छैनन् । मद्रासी फिल्म हेरेर, त्यहाँ हिराेले एक्लै हजारौंको समूहलाई बचाएजस्ताे हिराेइजम् राजनीतिमा हुदैन । यस्ता मिथकबाट सेन्टिमेन्टल भएर एक्लै पहाड बाेक्छु भनेर दाैडिनेले ऊ जस्तै हजारौंको संगठित शक्तिलाई परास्त गर्न सक्दैन । वास्तविक जीवनमा त्यो फरक हुन्छ ।

त्यसैले , यो राजनीतिक विरासतमा राजनीतिभित्र हुने अराजनीतिक हर्कत र विचलनका कारण नै परिवर्तन बिराेधी फ्लेवरमा केही हिराेहरू राजनीतिमा इन्ट्री मारेर उधुम मच्चाउने सपना देख्छन् । यसले केही समय जनतामा भ्रम दिनसक्छ । यो समाधान हाेइन, झन् धेरै समस्या हाे। यसको जिम्मेवारी ठूला दलहरूले लिनुपर्छ । सुध्रिनु पर्छ। माथिबाट त्यसको सुरुवात गर्नुपर्छ। नत्र स्वतन्त्रकाे नाममा दलीय व्यवस्था, परिवर्तनको भावना र त्यसको जगमा बन्न लागेको राष्ट्रिय समृद्धिकाे जग भताभुङ्ग हुनसक्छ ।

यद्यपि जनतामा उत्पन्न आशंका निराकरण गर्नेगरी परिवर्तनका आयामलाई स्वीकार्दै अग्रगमनको पक्षमा काम गरे रविहरूकाे राजनीतिक भविष्य अन्धकार नै चाहिँ छैन । तर राजनीतिकाे कुराउनी अलि छिटो खान रवीन्द्र मिश्रले जस्तो हतार गरेर राजतन्त्र र प्रतिगमनकाे सिनाे बाेक्ने चेष्टा गरे मिश्रकै पतनमार्ग हातलाग्ने निश्चित छ। आशंका किन पनि जन्मिन्छ भने यसरी ढाेल बजाउँदै धेरै हल्लाखल्ला गर्नेहरू मिश्र, ज्ञानेन्द्र साही जस्तै नागार्जुनकै घरपालुवा सावित भएका छन् ।

प्रकाशित मिति: मङ्लबार, असार ७, २०७९