अर्थ/विजनेस समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीको मरिण र सुनकाेसीमा बजेट कार्यक्रम प्रस्तुत

सुनकोसी न्युज
असार १० गते,२०७९ शुक्रबार ।
सिन्धुली । सिन्धुलीका मरिणा गाउँ पालिका र सुनकोसी गाउँ पालिकाले आगामी आ.व.२०७९/८० काे वार्षिक विकास कार्यक्रम सार्वजनिक गरेका छन् ।

मरिण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम असार ७ गते सार्वजनिक गरेको छ । दोस्रो गाँउसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको हाे ।

मरिण गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागि कुल ६३ करोड भन्दा बढी बजेट सार्वजनिक गरेको हो । दोस्रो गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाकी उपाध्यक्ष विमला माझीले संघिय, प्रदेश सरकार र स्थानिय सरकारको गरी कुल ६३ करोड २३ लाख ३३ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक बजेट अनुसार चालु खर्च तर्फ १९ करोड, ५० लाख ९९ सय हजार ८ सय र पुँजीगत खर्च तर्फ १६ करोड ६२ लाख ४० हजार रहेको छ ।

त्यस्तै सशर्त अनुदान तर्फ २२ करोड ५४ लाख २४ हजार समपुरक अनुदान तर्फ ३ करोड ५ लाख ७० हजार र विशेष अनुदान तर्फ १ करोड ५० लाख रुपँयौ विनियोजन गरिएको उपाध्यक्ष माझीले बताउनुभयो । बैठकमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले आर्थिक बर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष विमला माझीले बजेट प्रस्तुत गर्नभएको थियो ।

गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले मरिण गाँउपालिकाले आउदो आर्थिक वर्षको लागि निर्माण भएका विभिन्न नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सास्कृतिक सम्पदाको संरक्षण गरिने र पर्यटन प्रवर्द्धनको लागि पर्यटकीय क्षेत्रलाई बिकास गरिने नीति रहेको बताउनुभएको छ ।

त्यसैगरी,  सिन्धुलीको सुनकोसी गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम असार ९ गते प्रस्तुत भएको छ । आर्थिक बर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति  तथा कार्यक्रममा सामाजिक विकास नीति अन्तर्गत स्वास्थ्य तर्फ गाउँपालिकाभित्र “सुरक्षित मातृत्व, सुनकोशी गाउँपालिकाको दायित्व” नारा कार्यान्वयनका लागि गर्भवती महिलाको परिक्षण र पोषण सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिइने तथा गाउँपालिका मार्फत संचालित पोषण कार्यक्रममा पनि सो नारालाई मूल प्रवाहीकरण गरिने अध्यक्ष बोहोराले बताउनु भयो ।
विपन्न परिवारको पहिचान गरी “निःशुल्क स्वास्थ्य बीमा” कार्यक्रम संचालन गरिने छ । त्यस्तै एक पालिका एक सामुदायिक अस्पतालको नीति अनुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आ.व. २०७७/०७८ मा गाउँपालिकाको वडा  नं. ३ मा रहेको झागाझोली रातमाटा स्वास्थ्य चौकीको स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम प्राप्त भएकोमा उक्त अस्पताल स्तरोन्नतीको डिपिआर  निर्माण भई स्वीकृतीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको । हालको स्वास्थ्य चौकीसँग जोडिएको जग्गाको गाउँपालिकाको तर्फबाट प्रारम्भिक वातवरणीय परिक्षण प्रतिवेदन स्वीकृत गरी जग्गा प्राप्तिको लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभागमा जग्गा प्राप्तिको प्रक्रिया उपर काम भई रहेको छ । उक्त स्वास्थ्य चौकीको स्तरोन्नतीको कार्यलाई आ. व. २०७९/०८० मा पनि प्राथमिकता प्रदान गरीनेछ ।

शिक्षा तर्फ “गुणस्तरीय, जीवनोपयोगी र परिवर्तित परिस्थितिमा समायोजन हुने सभ्य र सक्षम जनशक्ति उत्पादन” भन्ने दुरदृष्टि सहित सुनकोशी गाउँपालिकाद्वारा तयार गरिएको “शिक्षा नीति २०७७” मा भएका कार्यनीतिगत व्यवस्थाहरुको कार्यान्वयनलाई प्राथमिकता प्रदान गरी सोको अलावा देहाय बमोजिमका नीतिहरु अवलम्बन गरिने नीति ल्याइएको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यलाई जोड गरिने बौद्धिक अपांगता भएका विद्यार्थीहरुका लागि गाउँपालिका क्षेत्रभित्र संचालन गरिएको पठनपाठनको व्यवस्थालाई निरन्तरता दिइने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने नीति ल्याइएको अध्यक्ष बोहोराले बताउनु भयो ।

त्यसैगरी, घ्याङलेक गाउँ पालिकाले नीति कार्यक्रम तथा बजेट निर्माणको लागि सर्वपक्षीय सम्मेलन सम्पन्न गरेकाे छ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९