अन्तर्वार्ता/विचार हेडलाईन न्युज

‘घुर्की, धम्की र बार्गेनिङकाे राजनीति त्यागाैं, पार्टी नत्यागाैं’

सुनकोसी न्युज
बिदुर खड्का, २०७८ फागुन १९ गते बिहीबार ।
काठमाडौं । एकीकरण गरेपछि पनि पार्टीका हरेक पद र अवसरमा पूर्वअवस्थाकाे आधारमा भागबन्डा लिइरहने अवस्थाको कहिल्यै अन्त्य भएन। अन्तर्घुलनकाे समस्या ज्युँदाे राखियो । पायक पर्दा पेल्ने र नपर्दा घर्क्याउन यसलाई निरन्तर प्रयोग गरिएको छ। यसैबाट सिकेर हाेला, माओवादीबाटै फुटेर गएका र फेरि एकीकृत भएकालेे पनि त्यसै गरिरहेको देखिन्छ । अन्यत्रबाट आएकाले पनि गच्छेअनुसार त्यसै गरेको देखिन्छ । काेही संस्थापक वा मालिक वा दाता जस्तो, काेही पाहुना जस्ता, रैती जस्ता, दयामायाले देलान् र खाउँला जस्तो आसैआसमा बाच्न विवस जस्ता देखिन्छन् । बार्गेनिङबाट मसक्कै पाउँदा साम्यवादै आएजस्ताे। नपाउदा सासै अड्केजस्ताे।

अर्कोतिर, तालि मात्रै पड्काउने, हाेहाे मात्रै भनेर जयजयकार मात्रै गर्नेलाई गम्ल्याङै अंगालो हाल्ने, तर आलोचनात्मक चेतसहितकाले अलिकति आफ्नो फरक काेण राख्यो कि ङ्याकिहाल्ने, अराजकताको बिल्ला भिडाइहाल्ने, गलहत्याइहाल्ने ।
सबै सार्वभौम सदस्यहरूकाे उत्तिकै दायित्व र हक लाग्ने पार्टी हाे भन्ने सत्य भसक्कै बिर्सेर निस्किहाल्, गैहाल भन्ने । अर्कोतिर अर्कोथरि, हाे क्यारे भनेर बिरक्तिहाल्ने, हिडिहाल्ने, काेठाखाेज्न थालिहाल्ने। मानिलिउँ, यो पार्टी कहिल्यै उसको थिएन । उ ज्वाइसाप जस्तो पाहुना मात्रै थियो । सासुले चित्त दुखाइन्, ठुस्केर हिडिहाल्ने जस्तो ।
सबै ठिकछ भनेर एउटै छाना,नाना र मानामुनि बसाेबास गरेपछि त्यसमा हुने अवसर र दायित्व सबैले भागिदार हुनैपर्छ भन्ने चेत किन नआएको ?? अर्की ल्याइदिन्छु, वा पाेइल गइदिन्छु भनेजस्तो नेताहरूको मनाेदसा किन ?? के तपाईंहरू नेतै हाे त ?? यस्तोमा तपाईंहरू कसरी परिपक्व नेता ?? कसरी हामीलाई नेतृत्व गर्ने डाइनामिक र भिजनरी नेता ??
वर्तमान राजनीतिकाे विरासत थेग्ने ठेक्का तपाईंहरूलाई परेको छ। थेग्नुस्। नभाग्नुस्, नभगाउनुस्। कसैलाई गलहत्याउदैमा धेरै दिन बाक्लो दाल खान पाइदैन। र, छुट्टिदैमा विश्वयुद्धै जितिदैन। आखिर सक्किने नै हाे यो मतिले। पाखुरामा दम चाहिन्छ । त्यसका लागि बलियो एकता र एकीकृत पार्टी चाहिन्छ । मूल्यांकन जनताले गर्छन् ।मपाइत्व छाडाैं। जनताले सबैलाई ऐना देखाउने नै छन् । रुढीबादी कम्युनिस्टको बर्काे माेहनबिक्रमलाई सुम्पेर परिवर्तित वस्तुस्थितिलाई स्वीकार गराैं। ‘म’वाद त्यागाैं। हामी सबै सुध्रिनेतिर लागाैं। धेरै काम गर्न बाँकी छ। बसर्जनकाे बाटो नलिनुस्।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १९, २०७८