समाचार हेडलाईन न्युज

दल बिभाजन सम्बन्धि अध्यादेश खारेज

सुनकाेशी न्युज
२०७८ असाेज ११ गते साेमबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश खारेज गर्नुभएको छ। असाेज ११ गते मन्त्रीपरिषद्ले गरेको सिफारिसमा उक्त निर्णय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (२) काे  खण्ड ख बमोजिम राजनीतिक दल सम्बन्धि (दाेस्राे संसाेधन) अध्यादेश २०७८ खारेज गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।

यसअघि गठबन्धन सरकारलाई समर्थन गरेका एमालेका माधवकुमार नेपाल खेमा र उपेन्द्र यादव खेमालाई दल विभाजन गर्न सहज बनाउन देउवा सरकारले उक्त अध्यादेश ल्याएको थियोे । यसैलाई टेकेर एमाले र जसपा दल बिभाजन भइसकेका छन् ।

यसअघि संसद र पार्टीको केन्द्रीय समितिमा ४०% संख्या पुराएपछि मात्रै दल बिभाजन गर्न पाउने प्रावधान रहेकोमा विधेयकले संसदीय दल वा पार्टीको केन्द्रीय समितिमा २०% संख्या पुराए दल विभाजन गर्न पाइने व्यवस्था गरेको थियोे ।
माओवादी, नेकपा एस र जसपाकाे समर्थनमा बनेको देउवा सरकार यही विधेयकको टेकाेमा बनेको भए पनि यसैका कारण सरकारले पूर्णता पाउन सकेको छैन । जसपा र नेकपा एसमा मन्त्री बन्न नपाएकाले २०% सांसद लिएर पार्टी फाेड्न सक्ने सम्भावना रहेकोले अध्यादेश खारेजीपछि मात्रै सरकारमा सहभागी हुने भनेपछि यो अध्यादेश खारेज गर्न प्रधानमन्त्रीले मन्त्री परिषदकाे निर्णय अनुसार राष्ट्रपतिलाई सिफारिस गर्नुभएको हाे।

सम्भवतः यससँगै सरकारले पूर्णता पाउन बाटो खुलेको छ।

प्रकाशित मिति: सोमवार, अशोज ११, २०७८