समाचार

तालिमको नाममा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए।

अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल र फिलिंगो मिडियाका सञ्चालक  रामकुमार रिजालविरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ।

प्रवक्ता रिमालका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरेको थियो।

त्यस कार्यक्रममा अनियमितता गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।

सूचनापछि अख्तियारले गरेको अनुसन्धानमा तालिम सञ्चालन गर्दा लागेको खर्चभन्दा दुई लाख ६० हजार ९ सय रूपैयाँ बढी भुक्तानी लिएको खुलेको हो। सो कुरा अख्तियारले पुष्टि गरेपछि आरोपपत्र दायर गरेको हो।

अख्तियारले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित पाँच कर्मचारीलाई छ महिनादेखि एक वर्ष छ महिनासम्मको कैद सजाय र बिगो रकम असुल गर्न माग गरेको छ।

यता फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय र बिगो जफत गर्न अख्तियारले माग गरेको छ। त्यस दफामा कसुरको मात्रा अनुसार दुई वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, अशोज १५, २०७८