समाचार स्थानीय हेडलाईन न्युज

माओवादी केन्द्र काठमाडौंको नाै दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

सुनकाेशी न्युज
२०७८ असार २८ गते साेमबार
काठमाडौं । नेकपा(माओवादी केन्द्र) काठमाडौं जिल्ला कमिटिले संचालन गरेको ९ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

असा २० गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशिक्षणमूलक उद्घाटनबाट सुरु भएको कार्यक्रम आज २८ गते पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको मन्तव्यसँगै समापन भएको छ। समापन कार्यक्रममा प्रदेश कमिटिका सदस्यहरू, जिल्ला कमिटिका सदस्यहरू र जिल्ला सहइन्चार्जहरूले अनुभुति मन्तव्य राखेका छन् । पार्टीभित्र अस्वस्थ अन्तरविराेधका कारण नकारात्मक धारणाको मात्रै बाेलवाला भएका बेला पार्टीको यस्तो वाैद्धिक कार्यक्रममार्फत कार्यकर्तालाई विचार र संगठनलाई कसरी नविकरण गर्ने, कसरी अध्ययनलाई आदत बनाउने र माक्र्सवादलाई सरल ढंगबाट कसरी बुझ्ने भनेर सिक्ने अवसर मिलेको उनीहरूले धारणा राखेका छन् ।

९ दिने प्रशिक्षणका लागि ९ जना प्रशिक्षकले विषयान्तर गरेर प्रस्तुति दिएका थिए । पहिलाे दिन अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक घटनाका बारेमा डेढ घण्टा पढाएका थिए । दाेस्राे दिन पाेखराका रामराज रेग्मीले माक्र्सवादी दर्शनशास्त्र विषयमा प्रशिक्षण दिए। तेस्रो दिन हरि राेक्काले राजनीतिक अर्थशास्त्र बारे प्रकाश पार्ने काेसिस गरे। चाैथाे दिन राम कार्कीले वैज्ञानिक समाजवादको विषयमा दिए। पाचाैं दिन राजनीतिक कार्यदिशा बारे देव गुरुङले, छैटौं दिन सांगठनिक सिद्धान्त बारे हितमान शाक्यले, साताैं दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन बारे मनहरी तिमल्सिनाले, आठौं दिन नेपाल कम्युनिस्ट आन्दोलनको इतिहास बारे नारायण दाहालले प्रशिक्षण दिएका छन् । नवाैं दिन प्रवक्ता श्रेष्ठले नेपाली राजनीतिकाे वर्तमान अवस्था र हाम्रो कार्यभार बारे संक्षिप्त प्रशिक्षण सहित कार्यक्रम समापन मन्तव्य राखेका थिए ।

जुम प्रविधिबाट भर्चुअल तरिकाले संचालन गरिएको प्रशिक्षण कार्यक्रमलाई माक्र्सवादी ज्ञान केन्द्रले हाेस्टिङ सम्हालेर प्राविधिक सहयोग गरेको छ।

शान्तिपूर्ण राजनीतिमा माओवादी आएपछि काठमाडौंमा यो स्तरको प्रशिक्षण कार्यक्रम पहिलोपटक भएको सहभागीले बताए । धेरै सिक्ने माैका मिलेको र यसले थप अध्ययनको भाेक जागृत भएको सहभागी महेश्वर फुयाल विवेकले अनुभुति राखेका छन् ।

यस्ता कार्यक्रम पालिकास्तरमा पनि राखिनुपर्ने सहभागीहरूको माग रहेको जिल्ला अध्यक्ष हिमाल शर्माले बताएका । छिटै नै मिलाएर पालिकास्तरमा पनि यस्ता कार्यक्रम राखिने जिल्ला इन्चार्ज कुमार पाैडेलले बताए । कार्यक्रममा काठमाडौं जिल्ला कमिटी सदस्यहरू, महानगर कमिटीका सबै सदस्यहरू, नगर कमिटिका अध्यक्ष र सचिवालय सदस्यहरू, सबै वडाका अध्यक्षहरू, जबस, माेर्चाका अध्यक्ष, केही कमिटिमा छुटेका सिनियरहरु र जिल्लामा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सदस्यहरू समेत गरी दैनिक ३०० जनाको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति: सोमवार, असार २८, २०७८