अर्थ/विजनेस समाचार हेडलाईन न्युज

सिन्धुलीका आठ पालिकाको बजेट सार्वजनिक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

सुनकोशी न्युज
२०७८ असार १३ गते आइतबार
सिन्धुली । स्वास्थ्यलाई प्राथमिकता दिँदै सिन्धुलीका आठ स्थानीय तहहरूले बजेट सार्वजनिक गरेका छन्  । असार १० गते भित्र बजेट ल्याउनु पर्ने प्राबधान अनुसार स्थानीय तह हरूले २०७८/७९ को बजेट ल्याएका हुन् । कमलामाई नगरपालिकाले १ अर्ब ११ करोड बजेट सार्वजनिक गरेको छ । गोलन्जोर गाउँपालिकाले कृषि, पर्यटन,पुर्वाधार लाई प्राथमिकता दिएको गोलन्जोर गाउँपालिकाका सूचना अधिकारी ठाकुर प्रसाद दाहालले बताउनुभयो । गाउँपालिकाको असार १५ गते बजेट ल्याउने उहाँले जानकारी दिनुभयो ।

दुधौली नगरपालिकाले ९५ करोड ९२ लाख १० हजार ५ सय बराबरको बजेट ल्याएको छ । नगरले कोरोना नियन्त्रण रोकथाम तथा जनस्वाथ्यलाई प्राथामिता दिएको दुधौली नगरपालिकाका प्रबक्ता रितेस राउतले बताउनु भयो । फिक्कल गाउँपालिको ४४ करोड बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले पुर्वधार निर्माणमा ८ करोड बराबरको बजेट छुट्याएको छ भने स्वास्थ्यमा १० प्रतिशत,कृषिमा २० प्रतिशत र शिक्षामा ३० प्रतिशत साथै महिला, बालबालिका,जेष्ठ नागरिकको क्षेत्रमा समेत प्राथमिकता दिँदै बजेट छुट्याएको गाउँपालिकाले जनाएको छ ।

घ्याङलेख गाउँपालिकाले ३६ करोड बराबरको बजेट ल्याएकोे छ । स्वाथ्य,कृषि र पूर्वाधार निमार्णलाई प्राथमिकता दिएको छ । हरिहरपुरगढी गाउँपालिकाले ५१ करोड ३७ लाख २३ हजार ४ सय ५८ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले कृषि,स्वास्थ्य, पर्यटन,पुर्वाधार निर्माणलाई प्राथमिता दिएको गाउँपालिकाले जनाएको छ । तीनपाटन गाउँपालिकाले ७६ करोड २८ लाख ९५ हजार २ सय बराबरको बजेट ल्याएको छ । तीनपाटन गाउँपालिकाले कोभिड र कृषिलाई पहिलो प्राथमितामा राखेर बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष पदम मायाँ तामाङले बताउनुभयो ।

बागमती प्रदेशको पालिकाहरू मध्ये नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह मरिण गाउँपालिका रहेको छ । मरिण गाउँपालिका सिन्धुलीले मंगलवार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि ५३ करोड ४० लाख २५ हजार बजेट सार्वजनिक गरेको हो । मरिण गाउँपालिकाले आर्थिक विकास तर्फ २ करोड १३ लाख ५ हजार, सामाजिक विकास तर्फ ६ करोड ९५ लाख ६७ हजार ७ सय, पूर्वाधार विकास तर्फ २ करोड ९२ लाख ५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७७ लाख ५० हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ५ करोड ६१ लाख बिनियोजन गरेको छ । मरिण गाउँपालिकाले विद्यालय व्यवस्थापनलाई प्राथमिकतामा राखि ३ करोड ८३ लाख ५ हजार ७ सय रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

गाउँपालिकालाई कृषिको व्यवसायिकरण र आधुनिकरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्न, दुध र मासुमा आत्मनिर्भर बनाउनका लागि कृषि तथा पशु कार्यक्रम सञ्चालनका लागि १ करोड १८ लाख ५ हजार रुपैयाँ बजेट बिनियाोजन गरिएको छ । त्यस्तै पालिकाले कोभिड १९ साथै अन्य रोगको विपद् व्यवस्थापन तथा न्यूनिकरणका साथै आधारभुत स्वास्थयमा सबैको पहुँच तथा गुणस्तर स्वास्थ्य सेवा प्रवाहको लागि १ करोड ३७ लाख ७२ हजार बजेट बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, असार १३, २०७८