समाचार हेडलाईन न्युज

माओवादी केन्द्र काठमाडौंबाट मेलम्चीका बाढीपीडितलाई साेलार बत्ती, जस्तापाता, चामल, म्याट्रेस र नगद सहयोग

सुनकाेशी न्युज
२०७८ असार ९ गते बुधबार
काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची र ईन्द्रावती नदीमा असार १ गते आएको भिषण बाढीले क्षतबिक्षत भएको मेलम्ची बजार आसपास र हेलम्वुका पीडितलाई नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला समितिले राहत हस्तान्तरण गरेको छ।

मंगलबार काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले माओवादी केन्द्र सिन्धुपाल्चोकका सहइन्चार्ज युवराज दुलालमार्फत उक्त राहत सामाग्री हस्तान्तरण गरिएको हाे। सिन्धुपाल्चोक जिल्ला पार्टीकै अनुरोधमा काठमाडौंले २०० बाेरा चामल, ३० बण्डल जस्तापाता, बत्ती सहितको साेलार प्यानल २३० थान, माक्स १० हजार पिस, सेनिटाइजर २०० पिस, ३ बण्डल म्याट्रेस र केही लत्ताकपडा सहित नगद रू. २,००,०००/- (दुई लाख रुपैयाँ) काे चेक हस्तान्तरण गरिएको अध्यक्ष शर्माले सुनकोसी न्युजलाई जानकारी दिनुभयो । 

काठमाडौं जिल्लाका १० वटा नगर कमिटिले काठमाडौं कार्यक्षेत्र भएका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य र नगर कमिटीका सदस्यहरूबाट पैसा र चामल संकलन गरि पठाइएको उहाँले बताउनुभयो । काेराेना माहामारीले आक्रान्त बनाएको हुनाले जनस्तरबाट सहयोग नउठाउने तर जिम्मेवार नेताहरूबाट मात्रै उठाएर पठाएको काठमाडौं जिल्ला ईन्चार्ज कुमार पाैडेलले बताउनुभयो ।

नेताहरूबाटै राहत संकलन गर्नेमा बुढानिलकण्ठ नगरपालिका पहिलो नम्बरमा रहेको जिल्ला अध्यक्ष शर्माले जानकारी दिनुभयो। यसले नगद रू. १ लाख २२ हजार ५ सय रुपैयाँ जिल्ला कमिटिलाई हस्तान्तरण गरेको छ। यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ काे महानगर कमान्डबाट रु . ३६ हजार २ सय रुपैयाँ पैसा र ३० बाेरा चामल जिल्लामा बुझाइएकाे कमान्ड संयाेजक सुरेश कर्मचार्यले जानकारी दिनुभयो ।

यसरी समग्र ४ नम्बर निर्वाचन क्षेत्रबाट रू. १ लाख ५८ हजार ७ सय रुपैयाँ र ३० बाेरा चामल सिन्धुपाल्चोक बाढीपीडितका लागि काठमाडौं जिल्ला कमिटिलाई बुझाइएकाे क्षेत्रीय इन्चार्ज बिदुर खड्काले जानकारी दिनुभयो ।

सबै नगरपालिका र निर्वाचन क्षेत्रमध्य ४ नम्बर क्षेत्र तथा बुढानिलकण्ठ नगरपालिका सहयोग पठाउनेमा पहिलो नम्बरमा रहेको छ।

यसअघि बुढानिलकण्ठले काेराेना नियन्त्रण सहयोग समिति बनाएर काम गरिरहेको र त्यसको पनि सहयोग काेष खडा गरि सदस्यहरूबाट ५५ हजार संकलन गरेको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८