समाचार हेडलाईन न्युज

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३० मत

सुनकाेशी न्युज
२०७८ जेठ २५ गते मंगलबार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिएका हुन् ।

प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ र नेकपा एमाले माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् ।

कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे ।

नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु रहेका छन् ।

 

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २५, २०७८