समाचार स्थानीय हेडलाईन न्युज

काठमाडौंमा साँझ ७ : ३० बजे प्रतिगमन बिरुद्ध ५ मिनेट ब्ल्याक आउट

सुनकाेशी न्युज
२०७८ जेठ ९ गते अाईतबार
काठमाडौ । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध ६ बुँदे अपिल जारी गर्दै आज साँझ ५ मिनेट ब्ल्याक आउट गर्न आह्वान गरेको छ ।

१४९ सांसदको हस्ताक्षरसहित गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको फर्जी दाबीलाई बहाना बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् असंवैधानिक र अलोकन्त्रिक ढंगले संसद विघटन गरेको विरोधमा काठमाडौं जिल्लाले ब्ल्याक आउट गर्न आह्वान गरेको हो ।

माओवादी केन्द्र काठमाडौंले साझ ७ ३० देखि ७ ३५ सम्म ५ मिनेट घरको वत्ति निभाएर ब्ल्याक आउट गर्न अपिल गरेको हो । जनता कोरोना संक्रमणका कारण आक्रान्त बनिरहेको बेला नहुने निर्वाचन घोषणा गरेर ओली सरकारले ४१ अरब रुपैयाँ खर्च गर्न लागेको आरोप लगाइएको छ ।

निर्वाचनको घोषणा नभई जनताको ज्यान बचाउन तल्लिन हुनुपर्ने भन्दै काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले सरकारको यस्तो कर्तुतकाविरुद्ध एकताबद्ध भएर लड्न अपिल समेत गरेका छन् ।

सबै पार्टी कमिटीको शक्ति कोरोना नियन्त्रणमा लाग्नु पर्ने भन्दै अध्यक्ष शर्माले जिल्लाका १३८ वटै वडामा कोरोना नियन्त्रण सहयोग समिति बनाएर थप प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

 

प्रकाशित मिति: आइतवार, जेष्ठ ९, २०७८