अन्तर्वार्ता/विचार हेडलाईन न्युज

उन्माद र कुण्ठा बोकेर गरिने एकताको भविष्य हुदैन (पार्टी एकतापूर्व बुधबार साप्ताहिकमा छापिएको लेखको अंश)

बिदुर खड्का
सुनकोशी न्युज
२०७८ ज्येष्ठ ३ गते सोमबार
……… त्यसैले बामहरु एकैठाउँमा हुन जरुरी छ । तर एकले अर्काको अगाडी आत्मसम्मान डगाएर हुने एकता झन ठूलो बिग्रहको कारण बन्न सक्छ । एकता भनेको विचार सिद्धान्तको विषय धेरै भएता पनि मुख्य कुरा संगठन र पं्राविधिक विषयवस्तु नै हुने गर्दछ ।

विचार र हैसियत जिम्मेवारीका कुरा, संगठनमा पहुँचका कुराहरुलाई सही ढंगले नमिलाएर एउटा पक्षले हेपिएको र खोसिएको महसुुस गर्ने अवस्था आयो भने त्यो एकता नभएर बिगठन हुने छ । त्यसैले दुबै पार्टी आफ्नो पार्टीको आन्तरिक जीवन मजबुत बनाएर मात्रै बराबरीको सम्मानजनक हैसियतमा एकता गर्दा सबैको आत्मसम्मामनको रक्षा हुन्छ ।

आत्मसम्मानको रक्षा भयोभने मात्रै सन्तुष्ट मनोविज्ञानका साथ काम गर्ने जाँगर चल्छ र परिणमुखी काम हुन्छ । नत्र परिणाम नकारात्मक आउन पनि सक्छ । त्यसका केही संकेत देखिएका छन् ।

दुईटा बामदलको सिट संख्या जोड्दा आउने जोडलाई हेरेर मख्ख पर्ने र घमण्ड पाल्ने भयो भने त्यो कांग्रेसको लागि फाइदाको कुरा हुनेछ । किन कि सबैलाई थाहा छ, घमण्डले बिनास निम्त्याउछ । बाममा क्षयीकरण हुनु भनेको कांग्रेसलाई फाइदा हो ।

दुई ठूला र अरु केही बामदल मिलेर चुनावमा राम्रो परिणाम ल्याएका छन् । ‘ढुङ्गाको भर माटोलाई, माटोको भर ढुङ्गालाई’ भनेझैं एकअर्काको आडमा सबैले राम्रो परिणाम हात पारेका छन् । तर त्यसले उनीहरुमा घमण्ड उत्पन्न गरेको हो कि भन्ने देखिन थालेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेललगायत केही जिम्मेवार नेता एकीकृत पार्टीको अध्यक्ष, दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । एमाले ससफोरमलाई लिएर सरकार बनाउने, माओवादीलाई वाइपास गर्ने दिशामा छलफल चलाईरहेको हल्ला आउने गरेको छ ।

उता माओवादीका केही ठूला नेताहरु वैचारिक एकताबिना पार्टी एकता गर्नु हुदैन भन्दै निरपेक्ष एकताको विरोध गरिरहेका छन् । विरोध मात्रै होइन, जसरी पनि जुनसुकै मूल्यमा पनि एकता हुनै पर्छ, नभए पहाडै खस्छ भनेर रोइकराई गर्ने नेताहरु पनि प्रसस्तै छन् दुबैतिर ।

यसरी हेर्दा एकताको दर्पणमा जितको उन्माद र हारको कुण्ठा प्रस्टै देख्न सकिन्छ । यस्तो उन्माद र कुण्ठाबीचको एकता र फ्युजन कस्तो होला र यस्तो पार्टीले राष्ट्रिय समृद्धिको नेतृत्व कसरी गर्ला भनेर तमाम युवाहरु चिन्ता गरिरहेका छन् ।

(२०७४ पौष ९ गते लेखिएको लेख)

प्रकाशित मिति: सोमवार, जेष्ठ ३, २०७८