समाचार

जनैपूर्णिमाको बिदा कहाँ कहाँ ?

साउन अन्त्यसँगै नेपालीलाई चाडपर्वको माहोलले छोपेको छ । भोलि अर्थात् ३० साउनमा हिन्दुहको पर्व जनैपूर्णिमा परेको छ ।

केही वर्षअघिसम्म सरकारले यो दिन बिदा दिँदै आएको छ । तर, याे वर्षदेखि सरकारले स्थान विशेष र जाति विशेषका लागि मात्र बिदा दिने निर्णय गरेपछि संघीय सरकारले जनैपूर्णिमामा बिदा दिएन ।

तर, प्रदेश सरकारले भने जनैपूर्णिमाका दिन धमाधम बिदा घोषणा गरिरहेका छन् ।

बिदा घोषणा नगर्ने प्रदेशका स्थानीय तहले समेत जनैपूर्णिमामा बिदा घोषणा गरिरहेका छन् । संघीय सरकारले बिदा नदिए पनि प्रदेश २ र सुदूरपश्चिम सरकारले भने जनैपूर्णिमाका दिन बिदा दिने घोषणा गरेका छन् ।

संघीय सरकारले भने यो वर्ष १५ वटा मात्र पर्व बिदा घोषणा गरेको छ । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं उपत्यकामा चारवटा जात्राको दिन बिदा दिइएको छ । जसअनुसार ३१ साउनमा गाईजात्रा, २७ भदौमा इन्द्रजात्रा, ११ चैतमा घोडेजात्रा र मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन बिदा दिइएको छ ।

२५ कात्तिकमा फाल्गुनानन्द जयन्तीमा किराँत धर्मावलम्बीलाई र २६ कात्तिकमा गुरु नानक जयन्तीमा नेपाली शिख धर्मावलम्बीका लागि संघीय सरकारले बिदा घोषणा गरेको छ ।

किरात, राई, यायोख्या, सुनुवार र लिम्बु जातिले वैशाख पूर्णिमामा (९ वैशाख) उँभौली पर्व र चण्डी पूर्णिमा मनाउन ४ जेठमा बिदा पाएका छन् ।

९ मंसिरमा किरात समुदायको उँधौली पर्व र २६ मंसिरमा नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) मनाउन बिदा दिइएको छ । सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन (६ भदौ)मा र तराई मधेसमा १६ कात्तिकमा छठ पर्व मनाउन सार्वजनिक बिदा दिइएको छ ।

इस्लाम धर्मावलम्बीले मनाउने इदु उल फित्र र इदुल जोहामा बिदा दिने निर्णय गरे पनि निश्चित दिन छुट्याइएको छैन । त्यस्तै, इसाई धर्मावलम्बीलाई मात्र लागू हुने गरी क्रिसमस डे (९ पुस)मा संघीय सरकारले बिदा दिएको छ ।

१५ पुसमा गुरुङ समुदायले तमु ल्होसार मनाउन बिदा पाएका छन् भने माघेसंक्रान्ति मनाउन १ माघमा थारु, मगर र छन्त्याल जातिलाई बिदा दिइएको छ । तामाङ समुदायले भने ११ माघमा सोनम ल्होसारमा बिदा पाउनेछन् ।

हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन १२ फागुनमा सोमबार बिदा पाउनेछन् । त्यस्तै, झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लामा सिरुवा पावनी पर्व मनाइने दिन बिदा दिइएको छ । धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा उक्त दिन बिदा दिने राजपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६