समाचार हेडलाईन न्युज

प्रेस संगठन नेपाल प्रतिष्ठान प्रदेशले महामारीमा पत्रकारका समस्या सहजिकरण गर्न बनायो कार्यदल

सुनकोशी न्युज
२०७८ जेठ २ गते आइतबार
काठमाडौं । नेपाल प्रेस संगठन प्रतिष्ठान प्रदेशले आज भर्चुअल मिटिङ गरेको छ । मिटिङले कोरोना माहामारीमा कसरी सुरक्षित रहेर पत्रकारिता गर्ने, संक्रमित पत्रकारहरुको उपचार लगायत कार्यमा कसरी सहजिकरण गर्ने, भन्ने लगायत विषयमा छलफल गरेको छ।

संगठनले आफ्नो भूमिकालाई यस्तो संवेदनशील समयमा कसरी प्रभावकारी बनाउने भनेर छलफल गरेको छ। बैठकले रघुनाथ बजागाईको संयोजकत्वमा कोरोना नियन्त्रण सहयोग समिति निर्माण गरेको छ। यसमा प्रतिष्ठान प्रदेशका सबै पत्रकारको सहभागिता रहने बताइएको छ। यसले कोरोनाका कारण समस्यामा परेका, अस्पतालमा अक्सिजन नपाएर अलमलमा परेका, कार्यक्षेत्रमा तलब नपाएर जिविकोपार्जनमा समस्या भएका, जागिरबाट बिनाकारण निकालिएका लगायत समस्याको समाधानमा सहजीकरण गर्ने छ।

यो टिमले पत्रकार महासंघ र संगठनको माथिल्लो कमिटिसँग सरसल्लाह र सहकार्य गर्दै समस्या समाधानमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने करा प्रतिष्ठान प्रदेशका अध्यक्ष विरेन्द्र वलीले बताए । बैठकमा प्रतिष्ठान प्रदेशका ईनचार्ज बिदुर खड्का, केन्द्रीय  पदाधिकारी कमल गिरि, सचिन रोका, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, बाशूदेव शर्मालगायत प्रतिष्ठान प्रदेशका सदस्यहरूको सहभागीता रहेको थियोे ।

कोरोना महामारीको दोस्रो कहरले मुलुकलाई आक्रान्त बनाएको बेला देशका कुनै पनि क्षेत्र यसबाट वच्न सकेका छैनन् । महामारीले बिकराल रूप लिएको छ। हजारौंको मृत्यु भईसकेको छ। दिनहुँ हज्जारौं नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन । चार हजारभन्दा बढीको मृत्यू भइसकेको छ। सबै अस्पताल कोरोनाका संक्रमितले भरिएका छन् । बिरामी उपचार र बेड नपाएर भौतारिएका छन् । अक्सिजन उपलब्ध नहुदा श्वास फेर्न नपाएर बिरामीको निधन भएको छ। अक्सीजन सहजिकरण गर्न सरकारको प्रयास पर्याप्त देखिदैन । किनकि सरकार कुर्सी कसरी बचाउने भन्नेमा मात्रै चिन्तित छ। सबै क्षेत्र सहयोग र सहकार्यमा जुटेका छन् ।

यस्तो अवस्थामा घटनाको सही सूचना र समाचार दिएर सबैलाई सुसूचित गर्ने संचार क्षेत्रको भूमिका असाध्यै महत्त्वपूर्ण हुन्छ। यसो त जोखिम मोलेर समाचार संकलन गर्ने क्रममा पत्रकार स्वयं संक्रमित भएका छन् । दर्जनभन्दा बढी पत्रकारको कोरोना संक्रमणका कारण निधन भईसकेको छ। यो विषम परिस्थितिमा आफू कसरी जोगिदै पत्रकारिता गर्ने भन्ने विषय चुनौतिपूर्ण छ। सबैभन्दा पहिला आफू जोगिएर सुरक्षित पत्रकारिता गर्न बैठकले सबैलाई आग्रह गरेको छ । संक्रमित बिरामी र बिरामीका आफन्तलाई मनोवैज्ञानिक असर नपर्ने ढंगले समाचार प्रशारण गर्न विषयमा सचेत रहन बैठकले सबै सदस्य पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २, २०७८