समाचार हेडलाईन न्युज

माधव पग्लिएपछि ओली प्रधानमन्त्री बन्ने सम्भावना बलियो

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको छ ।

कांग्रेस, माओवादी केन्द्र र सिंगो जसपा एकठाउँमा उभिएको भए संसदमा एमालेबाहेकका दलको बहुमत पुग्नसक्थ्यो । तर जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा देखिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार विहान भएको भेटमा पनि ठाकुर र महतोले साथ दिन नसक्ने बताए ।

कांग्रेस–माओवादी नेताहरुको अपेक्षा थियो, एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्छन् । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति जुटेको छ र नेपाल पक्षका सांसदको राजीनामा तत्काललाई टरेको छ ।

बिहीबार विहानै स्थायी कमिटीको बैठक राखेर चार नेतामाथि गरेका कारबाही फिर्ता लिएका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग झण्डै साढे ४ घण्टा वार्ता गरे ।

२८ फागुनयता अध्यक्ष ओलीले गरेका निर्णयहरु फिर्ता गर्नुपर्ने र २ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको शर्तलाई सम्बोधन गर्ने गरी कार्यदल बनाउन अध्यक्ष ओली सहमत भएपछि नेपालका सांसदहरुले राजीनामा दिएनन् ।

सिंगो जसपाले साथ नदिने र नेपाल समूहका सांसदहरुले राजीनामा पनि नदिने भएपछि कांग्रेस र माओवादी नेताहरु नयाँ सरकार गठनका लागि दाबी नगर्ने निर्णयमा पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘महन्थजीहरुले ओलीजीको विपक्षमा जान तयार हुनुभएन । माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले अब दाबी गर्ने अवस्था रहेन ।’

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेससँग ६१ (दुई निलम्बितबाहेक) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि वैकल्पिक सरकार गठनको पक्षमा छन् । तर यसले पनि बहुमत पुग्दैन ।

एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा बहुमत पुर्‍याउन कांग्रेस, माओवादी केन्द्र ठर जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका सांसदले नै पुग्ने आशा विपक्षी गठबन्धनको थियो ।

वैकल्पिक सरकार गठन गर्ने कांग्रेस–माओवादी केन्द्रको प्रयास असफल भएपछि फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने भएका छन् । २७ वैशाखमा संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने छन् ।

१२१ सांसद भएको एमालेलाई जसपाको महन्थ–राजेन्द्र पक्षले साथ दिए बहुमत त पुग्नसक्छ । तर पार्टी कार्यकारिणी समितिमा महन्थ–राजेन्द्रको बहुमत छैन र, उनीहरुले विश्वासको मत लिने प्रक्रियामा पनि ओलीलाई मत दिएका थिएनन् । यो पक्षका १५ सांसद तटस्थ बसेका थिए ।

कांग्रेस सहमहामन्त्री डा. महत पनि संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री बन्दा गलत नजीर बस्ने बताउँछन् । भन्छन्, ‘एकभन्दा बढी दलको समर्थनमा प्राधनमन्त्री बन्नु भएका उहाँले एक पटक संसदमा विश्वासको मत लिएर असफल भइसकेपछि फेरि ७६(२) अन्तर्गत दाबी गर्नु अनुचित हुन्छ, त्यो अनुसार गरिनु हुन्न ।”

प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७८