मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

हेटौंडामा अक्सिजन बैंक स्थापना

सुनकाेशी न्युज, २०७८ बैशाख १७ शुक्रबार

हेटौंडा । हेटौँडामा जटिल श्वासप्रश्वाससम्बन्धी समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ । मकवानपुरमा क्रियाशील लायन्स क्लबहरूको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो । अक्सिजन बैंक जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा स्थापना गरिएको छ । अक्सिजन बैंकमा हाल ३० सिलिन्डर अक्सिजन तयारी अवस्थामा राखिएको  छ । दिनानुदिन अक्सिजन मौज्दात वृद्धिका लागि लायन्स क्लबहरूले तयारी अघि बढाएका छन् । कोरोना संक्रमित भई अक्सिजनको व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले अक्सिजन बैंकको स्थापना गरिएको हो ।

लायन्स क्लबका पदाधिकारी तथा सदस्यको आर्थिक सहयोगमा १० केजी तौलका ३० सिलिन्डर अक्सिजन तयार पारिएको अक्सिजन बैंक व्यवस्थापन उपसमितिका संयोजक राजेश वाग्लेले जानकारी दिए । लायन्स क्लबले जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वय, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ सँगको सहकार्यमा अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो । लायन्स क्लबले अक्सिजन बैंक जिल्ला प्रहरी कार्यालय परिसरमै स्थापना गरेको छ ।

अक्सिजन आवश्यक पर्ने बिरामीको आफन्तले चिकित्सकको सिफारिस तथा सम्बन्धित वडाध्यक्षको पनि मौखिक सिफारिसमा जिल्ला प्रहरी कार्यालयबाटै अक्सिजन वितरण गर्ने व्यवस्था मिलाएको छ । अक्सिजन बैंक स्थापना गर्न हेटौँडास्थित अक्सिजन ग्यास विक्रेता कुन्दन ट्रेड कन्सर्नका सञ्चालक नन्दकिशोर साहले धरौटी नराखी ३० थान सिलिन्डर उपलब्ध गराएर सहयोग गरेको संयोजक वाग्लेले जानकारी दिए ।

१० केजीको एक सिलिन्डर अक्सिजनको ६ सय ५० रुपैयाँ पर्छ भने अक्सिजन सिलिन्डरको धरौटी १५ हजार रुपैयाँ पर्छ । लायन्स क्लबले यसअघि कोभिडको पहिलो लहरको समयमा हेटौँडा बजार क्षेत्रमा हात धुने स्थानको स्थापना, खाजा वितरण तथा विभिन्न क्षेत्रमा सहयोग गरेको थियो

प्रकाशित मिति: शुक्रबार, बैशाख १७, २०७८